मध्य रातमा विप्लवको आयो यस्तो चेतावनी

गिरफ्तारी नरोके सरकारको कार्वाहीविरुद्ध सशक्त प्रतिरोध गर्छौ

काठमाडौं । सरकारले हतियार बुझाउन तोकेको समयसीमा सकिन एक दिन मात्रै बाकी रहेका दिन नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युस्टि पार्टीले 

पार्टीमाथिको प्रतिबन्ध हटाएर दमन र गिरफ्तारी नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । सरकारले आयतबारसम्म हतियार बुझाउन चेतावनी दिएको थियो ।

शनिबार मध्यराती विज्ञप्ती जारी गर्दै नेकपाले जनतालाई साथमा लिएर गरिने प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुने पनि चेतावनी दिइएको छ । महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाहीविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

‘सामाजिक फासिवादी केपी-प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम यातना दिइराखेको छ’, भनिएको छ, ‘सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं । यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।’

‘हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।

सो विज्ञप्तीमा पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः बिनाकारण गिरफ्तार गरेको भन्दै तुरुन्त रिहाई गर्न माग गरेका छन् । शुक्रबार मात्रै उनीहरु पक्राउ परेका थिए । ओली सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपाको गतविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि नेकपाका कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ । 

यता आइतबार अर्काे विज्ञप्ती जारी गर्दै अहिले सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नभएको पनि उल्लेख गरिएको छ । अनिल शर्मा विरहीले आइतबार विज्ञप्ती जारी गर्दै आफ्नो पार्टी वार्ता विरोधी नभएको तर अहिले वार्ताको सन्दर्भ उचित नभएको उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस