७ दिनदेखि अस्पताल ठप्प, चिकित्सकले नै दिएर सरकालाई ७२ घण्टे ‘अल्टिमेटम’

Chikitsak 28

काठमाडौं । समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ७ दिनदेखि बन्द छन् । चिकित्सकहरु सरकारी निर्देशनको वेवास्ता गर्दै आन्दोलनमा छन् ।

सरकारी चिकित्सकलाई आन्दोलन छाडेर काममा फर्किन सरकारले आग्रह गरेको छ । समायोजनको विरोधमा सात दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्दै चिकित्सकहरु आन्दोलन उत्रँदा विरामीहरु मर्कामा परेका छन् ।

सरकारले पटकपटक काममा फर्किन आग्रह गरिरहेको छ । तर, चिकित्सकहरुले सरकारी आग्रह अटेर गर्दै आएका छन् । बरु उल्टै आन्दोलनरत् चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएका छन् । नेपाल चिकित्सक संघले आन्दोलनरत पक्षसँग वार्ता गर्न त्यसरी ७२ घण्टे ‘अल्टिमेटम’ दिएको हो ।

संघले बिहीबार काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुसँग छलफल गरी सरकारलाई अल्टिमेटम दिएको जनाएको हो । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकहरुको आन्दोलनमा संघको पूर्ण सर्मथन रहेको बताए ।

संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अवमूल्यन गरे देशभर विरोधका कार्यक्रम सन्चालन गर्न बाध्य हुने चेतावनी दिए ।काठमाडौं उपत्यका भित्रका सरकारी, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनिधि र चिकित्सा पेसासँग सम्बन्धित प्रतिनिधि बसेर सरकारलाई ७२ घण्टे अलिटमेटम दिएका हुन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने र चिकित्सकहरुलाई चिढ्याउने सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

प्रतिकृया दिनुहोस