राप्रपाले बनायो जनसंघर्ष परिचालन समिति, संयोजकको जिम्मेवारी तामाङलाई

Buddhi man tamang

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको छ । राप्रपाले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको हो ।

सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरु दिपक बोहोरा, बालाराम घर्तीमगर र सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा छन् । नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेका छन् ।

राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जसअनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यसैगरी चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, बैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर र प्लेकार्ड जलाउने तथा बैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु पनि गर्ने छ । यी सबै कार्यक्रम सम्पन्न गर्न राप्रपाले जनसंघर्ष परिचालन समिति गठन गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस