निस्कियो रोजगार संयोजक प्रारम्भिक सूची, चैत २३ मा परीक्षा लिइने

Saram mantralaya

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

२ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेदन माग गरिएकोमा ९ हजार ८ सय ७४ जनाको आवेदन परेको थियो । तीमध्येबाट मन्त्रालयले योग्यता र अनुभवका आधारमा प्रारम्भिक सूचीमा परेका प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो ।

सरकारले पहिलो पटक कम्प्युटरका माध्यमबाट लिएको परीक्षामा आवश्यक सङ्ख्यामा उत्तीर्ण हुन नसकेपछि दोस्रो पटक आवेदन माग गरिएको हो । शुक्रबार सार्वजनिक गरिएको प्रारम्भिक छनोटमा पर्नेहरुको चैत २३ गते कम्प्युटरबाट परीक्षा लिइने छ । परीक्षा काठमाडौंमा हुनेछ ।

प्रदेश १ मा ६६ जना शाखा अधिकृतका लागि १ हजार ३ सय ८७ जनाको आवेदन परेकोमा पहिलो चरणमा १ सय ९८ जना छनोटमा परेका छन् । ५ जना नायब सुब्बाका लागि ८ सय ७२ जनाको आवेदन परेकोमा १५ जना छनोटमा परेका छन् ।

प्रदेश २ मा ४५ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ४ सय २२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १ सय ३५ जना पहिलो चरणमा छनोट भएका छन् ।

प्रदेश ३ मा ३१ जना शाखा अधिकृतका लागि १ हजार ६ सय २० जनाको आवेदन परेको थियो । आवेदकहरु मध्येबाट ९९ जनालाई छनोट गरिएको छ भने ३ जना नायब सुब्बाका लागि ५ जनाको आवेदन परेकोमा ९ जना छनोटमा परेका छन् ।

गण्डकी प्रदेशका लागि १४ जना शाखा अधिकृत माग गरिएकोमा ४ सय ७८ जनाले आवेदन दिएका थिए । तीमध्ये ४२ जना पहिलो चरणबाट छनोट भएका छन् । यस्तै एक जना नायब सुब्बाका लागि १ सय ५४ जनाले आवेदन दिएकोमा ३ जनालाई छनोट गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा ५१ जना शाखा अधिकृत माग गरिएकोमा १ हजार ३ सय २ जनाको आवेदन परेको थियो । माग गरिएको सङ्ख्याको तीन गुणा हुने गरी अधिकृतका लागि १ सय ५३ जनाको सूची सार्वजनिक गरिएको छ । एक जना नायब सुब्बाको पदका लागि २ सय ४२ जनाले आवेदन दिएकोमा ३ जना पहिलो चरणबाट छनोट भएका छन् ।

प्रतिकृया दिनुहोस