प्रधानमन्त्री ओली भन्छन्, लगानीका लागि नेपाल ‘भर्जिन कन्ट्री’

Oli 15

प्रधानमन्त्री ओली भन्छन्, लगानीका लागि नेपाल ‘भर्जिन कन्ट्री’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।
लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे ।
‘स्थिर सरकार बनेको छ, सरकारी नीति पनि लगानी अनुकूल बनाइएको छ’ ओलीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विदेशी लगानी जरुरी छ, म लगानीका लागि आह्वान गर्दछु ।’ उनले लगानीका लागि नेपाल ‘भर्जिन कन्ट्री’ बताएका छन् ।
उनले लगानीका विभिन्न क्षेत्रहरु सरकारले यसअघि नै तय गरिसकेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालमा संक्रमणकाल अन्त्य भएको र देश समृद्धिको बाटोतर्फ लम्किरहेको भन्दै हातेमालो गरेर अघि बढ्न सबैलाई आह्वान गरे ।

शुक्रबार सुरु भएको सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै एक हजार लगानीकर्ताको उपस्थिति छ । विभिन्न ४० देशहरुबाट मात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजना प्रस्ताव गरिँदैछ ।

आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले गर्न लागेको लगानी सम्मेलन २०१९ आजदेखि सुरु हुँदै छ । सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २५ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

सम्मेलनका क्रममा नै एक दर्जनभन्दा बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको सहभागिता पनि ६ सयकै हाराहारीमा हुनेछ ।

प्रतिकृया दिनुहोस