१ लाख ३१ हजार कर्मचारी समायोजन, एक साता भित्रै २० हजारका लागी लोकसेवा खुल्दै

Sanghiye mamila 3223

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ ।

आज बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनाको काम सम्पन्न भएको घोषणा गरे ।

मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजना भएका छन् ।

प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन सम्पन्न भएका छन । स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार ४३ जना समायोजना भएको अधिकारीले बताए ।

स्थानीय तहमै साविकका स्थानीय निकाय, जिविस र अन्य सेवाका गरी थप १२ हजार ९७ कर्मचारी समेत स्थानीय तहमा समायोजन भएका छन् ।

समायोजन महाशाखाका सहसचिव केदारप्रसाद पनेरुले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै कर्मचारी समायोजनाको काम सकिएको जानकारी दिए । सहसचिव अधिकारीले समायोजनको गुनासोलाई चैत भित्रमा सम्बोधन गरिने बताए ।

पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए । ‘१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई आग्रह गर्दैछौं,’ मन्त्री पण्डितले भने ।

समायोजनको काम कुशलतापूर्वक सम्पन्न गरेको भन्दै मन्त्री पण्डितले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको प्रशंसा गरेका थिए ।

प्रतिकृया दिनुहोस