अस्पतालमा भुइँमा राखेर बिरामीको उपचार

Hospita jajarkottt

जाजरकोट । बिरामीको चाप बढ्न थालेपछि जाजरकोट अस्पतालमा बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ ।

पचास शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिए ।

झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताए ।

एउटा शैयामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेतले बताए ।

उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ । नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो ।

विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो ।

अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुनलागेको बताए ।

जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ ।

प्रतिकृया दिनुहोस