मन्त्रीपरिषद हेरफेरमा ओली–प्रचण्ड भलाकुसरी : लगानी सम्मेलनको पखाईमा ओली

Oli prachanda

काठमाडौं । मन्त्रीपरिषदको आयु ५ वर्ष । गठन भएको समय १ वर्ष । मन्त्रीको समय पनि उस्तै । तर दुर्भाग्य, सरकार गठन भएको एक वर्षमै सरकार होइन, मन्त्रीपरिषदको हेरफेर हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । लगानी सम्मेलनलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमति लिएर मन्त्रिमण्डल फेरबदल गर्ने अन्तिम तयारी छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको एकवर्षे कामको मूल्यांकनलाई आधार बनाएर मन्त्री फेर्न लागेका बताइएको छ । अध्यक्ष प्रचण्डले केही मन्त्री मात्र परिवर्तन गर्दा राम्रो सन्देश नजाने भएकाले सबै मन्त्री फेर्न सकिने विकल्प पनि प्रस्तुत गरेका छन् ।

मन्त्री फेरिने चर्चा चलेसँगै प्रधानमन्त्री ओली र प्रचण्डको निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप बढाएका छन् । बालुवाटारमा दिनहुँ मनत्रीहरु पुग्ने गरेका छन् । बालुवाटारले पनि फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट तयार पारिसकेको छ ।

प्रधानमन्त्री र प्रचण्डबीच मन्त्री हेरफेरको छलफल भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेटले त आफू मन्त्रीबाट हट्ने संकेत गरेका छन् । उनले शनिबार भएको एक सार्वजनिक कार्यक्रममा आफू मन्त्री नभए पनि सांसदको भूमिका रहेर विकास निर्माणको काममा लाग्ने अभिव्यक्ति दिइसकेका छन् ।

ओली नेतृत्वको मन्त्रिपरिषदमा केही समयअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि नयाँ मन्त्री को हुने भन्ने छलफल पनि शुरु भएको छ । पर्यटन मन्त्रीमा योगेश भट्टराईलार्य ल्याउने चर्चा छ । तर, ओली भने भट्टराईलाई मन्त्री बनाउने भन्दा पनि पार्टीकै जिम्मेवारी दिएर थन्क्याउने पक्षमा उभिएका छन् ।

निर्वाचनको क्रममा भने प्रधानमन्त्री ओलीले ताप्लेजुङमा योगेश भट्टराईको निर्वाचन क्षेत्रमा पुगेर उनलाई जिताएर पठाउने जिम्मेवारी ताप्लेजुङबासीको भएको र मन्त्री बनाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए । तर ओली नेतृत्वको मन्त्रिमण्डलमा भट्टराई अट्न सकेनन् । अहिले पुनः भट्टराई मन्त्री हुने चर्चा शुरु भएको हो ।

प्रतिकृया दिनुहोस