पूर्वराजा ज्ञानेन्द्र आउँदा लाग्यो जयजयकारको नारा, हेर्नैका लागि नेतादेखि सर्वसाधारणको घुइचो

Gyanendra shah udaypur

गाईघाट । जिल्लामा पहिलो पटक पाइला टेकेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटघाटभन्दा पनि हर्नेको जमात निकै थियो । पूर्वराजालाई हेर्नैका लागि सत्तापक्ष र विपक्षी लगायत पार्टीका जिल्ला तहकै नेताहरुको उपस्थिति थियो ।

डेढ घण्टासम्म उदयपुरबासीलाई समय छुट्याएका ज्ञानेन्द्रलाई भेटेर आफ्ना समस्या राख्न आएका धेरैले भने समय पाएनन् । पूर्वराजाको भ्रमणप्रति कुनै प्रतिक्रिया नदिएका राजनीतिक दलका नेताहरुले उनलाई हेर्न मात्रै भए पनि आएको बताए ।

जनकपुरबाट बा ४ च ३८०७ नम्बरको निलो ल्याण्डक्रुजर जिप चढेर आएका पूर्वराजाले त्रियुगा नगरपालिका–१० स्थित राधाकृष्ण मन्दिरमा १५ मिनेट पूजा गरे ।मन्दिरमा पूजाआरधना सकेसँगै त्यहीँ रहेको राधामाधव समितिको सभाहलमा प्रवेश गरी १० मिनेट अवलोकन गरेका थिए ।

लगत्तै पूर्वशाहीकालीन मन्त्री उदयपुर निवासी हरिबहादुर बस्नेतका परिवारले स्व. आमाको नाममा मन्दिर परिसरमै निर्माण गरेको पुण्य स्मृति भवनमा सर्वसाधरणसँग ३० मिनेट भेटघाट गरेका थिए ।

दिउसो साढे ३ बजे सदरमुकाम गाईघाट प्रवेश गरेका पूर्वराजालाई उनका समर्थकहरुले मुख्य चोकदेखि करिव ३ सय मिटर पैदलयात्रा गराएका थिए । झण्डै दुई हजारको संख्यामा भेटघाट र हेर्नका लागि लाइन बसेका सर्वसाधरणको भिडलाई छिचोल्न उनलाई १७ मिनेट लागेको थियो ।

पैदलयात्रामा सर्वसाधरणको भव्य स्वागत पाएका पूर्वराजा पैदलयात्रापछि पुनः गाडी चढेर मन्दिर पुगेका थिए । उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा रहेको कमाण्डले सुरक्षा दिएका थिए भने आन्तरिक सुरक्षाका लागि शिवसेना नेपालले दिएको थियो ।

पूर्वराजा भ्रमण व्यवस्थापन समितिका संयोजक ध्रुव रायामाझीले सोचेभन्दा बढी सर्वसाधरणको उपस्थिति रहेको बताए । पूर्वराज ज्ञानेन्द्र शाहले शनिबार उदयपुरको सदरमुकाम गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पूजाअर्चना गरे । सर्वसाधरणको भेटघाटपछि आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले पत्रकारसँगको साक्षात्कारका लागि १० मिनेट सयम उपलब्ध गराउने बताए पनि उनले नितान्त धार्मिक कार्यक्रम भएकाले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

राजाको स्वागतका लागि निस्किएका सर्वसाधरणले ‘राजा आऊ देश बचाऊ,’ ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ ‘नेपाली जनता के भन्छन् हिन्दु धर्म ले भन्छन्’ जस्ता नाराहरु लगाएका थिए । फूलमाला, पुष्पगुच्छा लिएर सडकमा लामबद्ध भएका कतिपय सर्वसाधरणले उनको खुट्टा छुन लाग्दा आफैँले समातेका थिए ।

प्रतिकृया दिनुहोस