कोशी अञ्चल अस्पतालमा पेइङको नाममा यसरी हुन्छ ठगी !

Kosi hospital

विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा बिरामी ठगीमा पर्न थालेका छन् ।

नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको अस्पतालले जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भए पनि अस्पतालका चिकित्सकहरूले ड्युटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरूबाट रकम अशुल्ने गरेको पाइएको छ ।

बहिरंग सेवा लिन आउने बिरामीको अधिक चापका कारण अस्पतालले दिउँसो पेइङ सेवामार्फत सहुलियतमा सेवा दिन थालेको बताएको थियो । पेइङ सेवा भनिए पनि निजी अस्पतालको तुलनामा सहुलियतपूर्ण हुनुपर्नेमा कतिपय परीक्षण र सेवाशुल्कहरू निजी क्लिनिकहरूको भन्दा महँगो रहेको पाइएको छ ।

बिहीबारको एउटा घटनाले कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा भइरहेको बेथितिलाई उजागर गरेको छ। विराटनगर १० की ७ वर्षीया श्रेया गौतमको दाँतको उपचारका लागि ५० रुपैयाँ तिरेर ओपिडी सेवाको पुर्जा लिइएको थियो ।

पुर्जाअनुसार डेन्टल वार्डमा दाँतको परीक्षण भयो तर, कुन चिकित्सकले परीक्षण गरेको हो भन्ने कुरा पुर्जामा खुल्दैन । परीक्षण गर्ने चिकित्सकले हस्ताक्षर नगरेका कारण परिचय नखुलेको हो । परीक्षणपछि दाँतको एक्सरे गर्नुपर्ने कुरा पुर्जामा लेखियो र साथमा एक्सरेको शुल्क २ सय रुपैयाँ बुझाउनुपर्ने संकेत पनि पुर्जामै उल्लेख गरियो ।

सोहीबमोजिम बिल काउन्टरले रकम बुझ्यो । एक्सरे भएपछि रिपोर्ट देखाउन लगियो । रिपोर्ट हेरेपछि ती डाक्टरले बिरामीलाई २ बजे लिएर आउन भने । चिकित्सकको सल्लाहबमोजिम २ बजे फेरि अस्पताल पुगेर उपचार गर्न आग्रह गर्दा चिकित्सकले उपचार गर्न मानेनन् ।

अस्पतालको ओपिडी वार्डको १४ नम्बर कोठामा बिहान परीक्षण गरिएको बिरामी दिउँसो त्यही पुग्दा चिकित्सकहरूले ओपिडीको पुर्जा दिउँसो नचल्ने भन्दै पेइङको पुर्जा लिएर आउन भने । पेइङ सेवामा ३५० रुपैयाँ तिरेर ओपिडी पुर्जा काटेपछि एक महिला डाक्टरले पुर्जामा २ हजार रुपैयाँ लेख्दै काउन्टरमा पठाइन् ।

पेइङ सेवामा बिरामीलाई नै नहेरी २ हजारको आरसिटी गर्ने बिल काटेपछि बालिकाको दुखेको अनुमान गरिएको दाँत सामान्य ड्रिल गररे प्लाष्टर भरियो । त्यस क्रममा वार्डका दुई चिकित्सकबीच निकैबेर समस्या छ वा छैन भन्नेमा विवाद भयो । अर्कोपटक बिरामीको दाँतको एक्सरे गरियो र डा.अनुप खनालले प्लास्टर गरे ।

करिब ७ महिनाअघि पनि श्रेयाको चारवटा दाँत त्यसरी नै भरिएको आमा शिलाको भनाइ छ । त्यतिबेला कोशी अञ्चल अस्पतालमा यो सेवा नहुँदा एक्सरेपछि चिकित्सकले बाहिर पठाएका थिए ।

स्टार डेन्टलमा चारवटा दाँच भर्दा २ हजार रुपैयाँ शुल्क लागेको थियो’ श्रेयाकी आमा शिलाले भनिन्, ‘सरकारी अस्पतालमा उपचार गर्न गएको त एउटा दाँत भरेकै २ हजार लाग्यो, त्यसमाथि एकैदिन दुईपटक ओपिडीको पुर्जा काटेर ४ सय बुझाउनुर्पयो ।’ ओपिडी सेवा लिन पुर्जा काटेका बिरामीको उपचार प्रक्रिया पूरा नहुँदै पेइङको पुर्जा काट्न लगाएर ठगी गरेको यो प्रतिनिधि घटना हो ।

अस्पतालमा चिकित्सकले बिहानको ओपिडी समयमा भीड रहेको भन्दै दिउँसो बोलाउन थालेका छन् । उनीहरूले १२ नबज्दै बिरामीलाई २ बजेपछि आउन भन्ने गरेका छन्। तर, २ बजे आउने बिरामीले पेइङ सेवामा ३५० रुपैयाँ तिरेर अर्को पुर्जी काट्नुपर्छ ।

पेइङ सेवामा लिने उपचार सेवा वापतको रकम चिकित्सकले पुर्जामा नै लेखेर पठाउनुलाई पनि शंकास्पद रूपमा लिइएको छ । अन्य समयमा परीक्षण गर्ने विषय मात्र चिकित्सकले लेखेर त्यसको रकम काउन्टरले नै काट्ने गरेकोमा डेन्टलमा भने डाक्टरले पुर्जीमै रकम तोक्ने गरेका छन् ।

अर्को अनौठो विषय कोशी अञ्चल अस्पतालले जारी गरेको ओपिडी पुर्जा २ प्रकारको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुर्जा बिहानको ओपिडीमा प्रयोग हुन्छ भने पेइङ सेवामा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश १ को पुर्जा छ । प्रदेश सरकारको नाममा जारी भएको पुर्जाबाट प्राप्त भएको रकम कसरी प्रयोग हुन्छ भन्ने अस्पताल प्रशासनले पनि स्पष्ट जानकारी दिन सकेन ।

निजी क्लिनिकमा चिकित्सकहरूले बिरामी जाँचेको शुल्क ५ सय रुपैयाँ लिने गरेका छन् । सरकारी स्रोतसाधन प्रयोग गरेर सोही अस्पतालमा पेइङको नाममा लिइने गरेको ३५० रुपैयाँ अत्यधिक हो ।

अस्पतालका डेन्टल विभागका प्रमुख डा. सुधीर श्रेष्ठले बालबालिकाको पछाडिको दाँतको आरसिटी उपचार अस्पतालमा भर्खरै सुरु भएको र अन्यत्रभन्दा कम शुल्कमा उपचार गर्ने गरेको दाबी गरे । ‘बिहानको भीडमा आरसिटी सेवा दिनै सकिँदैन’ डा. श्रेष्ठको दाबी छ ‘त्यही भएर पेइङबाट सेवा दिन थालेका हौँ, जुन बाहिरको तुलनामा आधाभन्दा बढी सस्तो छ ।’

डाक्टरहरूले बुझाएर बिरामीलाई नभनेको र दोहोरो पुर्जी काट्न लगाएको हुनसक्ने बताउँदै उनले भोलिबाटै त्यसमा सुधार हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस