पुरी हत्या प्रकरण : देवदहमा तरुण दलको चक्काजाम

Manish puriii

बुटवल । रुपन्देहीको देवदहमा गए राति आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा तरुण दलले चक्काजाम गरेको छ ।

तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ । रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडाको चपेटामा अनिशको मृत्यु भएको हो ।

देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो ।

विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् ।

सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोधपुछ र अनुसन्धानका लागि गएराति नै ५ जना र सोमबार बिहान थप २ जना गरी ७ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर रानालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्याइएको थियो ।

लगत्तै उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए । उनी विगत १ बर्षदेखि मुटुको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए ।

एक मात्र छोरा अनिषको मृत्युपछि उनका बुबा र आमा अचेत छन् । उनीहरु दुबै जनाको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ ।

मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । मृतक पुरी गरिब परिवारका सदस्य थिए ।

अनिशको ज्यान गएपछि परिवारजन र आफन्त आक्रोशित भएका छन् ।

आफन्तजनले हत्यामा संलग्नलाइ कारबाही नभएसम्म पुरीको शव नबुझ्ने समेत निर्णय गरेका छन् ।

प्रतिकृया दिनुहोस