बलात्कार गरेर हत्या गरी शव जलाएको आरोपमा एक जना पक्राउ

Pakrau 11

जनकपुर । बालिकालाई बलात्कारपछि हत्या गरी शव जलाएको आरोपमा धनुषामा शुक्रबार एकजना पक्राउ परेका छन् ।

मिथिला नगरपालिका–३ हरीहरपुरकी ११ वर्षीया रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले धनुषा बटेश्वर–४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार मामा घर आएका बेला विवाहमा नाच्दै गरेकी ११ वर्षीया बालिकालाई निरजले फ्रुटी र चाउचाउको प्रलोभनमा बस्ती बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि अचेत अवस्थामा रहेकी बालिकालाई जर्घामगरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

‘लागूऔषध ट्याब, गाँजा र मदिरा खाएर मातिएका मगरले ११ वर्षीया बालिकालाई फ्रुटी र चाउचाउको प्रलोधन दिएर उखुबारीमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक खनालले भने, ‘अपराधिक पृष्ठभूमिका जर्घामगरले पक्राउ गर्ने डरले हत्या गरी प्रमाण नष्ट गर्न उखुको पातले बालिकालाई जलाएका थिए ।’

राम्रोसँग बोल्न समेत नसक्ने बालिकालाई बलात्कार पछि घाटी थिचेर हत्या गरी बालिकाको लुगा र चप्प समेत शरिरमा राखेर उखुको पातमा लाइटरले आगो लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

‘काठमाडौंमा सार्वजनिक अपराध र धनुषाको ढल्केबरमा केटी जिस्काएको आरोपमा थुनामा परेका निरजले बालबालिकालाई ‘इज्जी टारगेट’ गरेको देखिन्छ,’ प्रहरी उपरीक्षक खनालले भने ।

घटना लगतै जिल्ला र प्रदेश प्रहरीको टोली घटनाको अनुसन्धानमा जुटेको थियो । बालिका बलात्कारपछि हत्या गरी भारततर्फ जान लागेका मगरलाई दुहबीबाट सोमबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।

पक्राउ परेका जर्घामगरका बुवा र आमा छुट्टिएर बस्दै आएका छन् । बुवा भारतको दरभंगा र आमा काठमाडौंमा बस्दै आएका छन् ।

आफन्तको घरमा बसेर उनले पेन्टिङ र मजदुरीको काम गर्दै आएका थिए । निरज गाउँमा ‘निरन’ र ‘हाम्ली डन’ नामले समेत परिचित थिए ।

प्रतिकृया दिनुहोस