प्रकाशमानको निवासमा खिचडी बैठक, बन्यो संस्थापन इतरको

Congress leader

काठमाडौं । नेपाली कांग्रेसको विधानलाई आफु अनुकुल बनाउन संस्थापन र असन्तुष्ट समूह आन्तरिक तयारीमा जुटेका छन् ।

आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो ‘बटम लाइन’ पनि तय गरेको हो । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, अर्जुन नरसिंह केसी, डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, गगन थापा, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, कमला पन्तसहित ती नदर्जन बढी नेताहरु सहभागी थिए ।

विधानको विषयमा सहमति निर्माण गर्नका निमित्त बैठक बसिएको हो । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार पुनः बस्दैछ । त्यसअघि नै विधानमा दुवै पक्षबीच सहमति कायम गराउने प्रयास भएको हो ।

सोमबार बस्ने बैठकमा सर्वसम्मतबाट विधान पारित हुने सम्भावना निकै कम छ । शुक्रबारबाट महासमिति बैठक भएकाले विधान पारित नगरी पनि हुँदैन । सभापति देउवासामू बहुमतले विधान पारित गर्ने बाहेक विकल्प पनि छैन ।

पौडेल समूह भने सहमतिकै आधारमा विधान पारित गर्नुपर्ने निष्कर्षमा पुगेको छ । आइतबार बसेको बैठकमा सहमतिकै आधारमा विधान मस्यौदालाई केन्द्रीय समितिबाट पारित गर्नुपर्ने निष्कर्षमा पुगेको नेता अर्जुनरसिंह केसीले बताए । करिब अढाई घण्टा बसेको बैठकमा नेताहरूले पहिलाको जस्तो आफ्नो अडान भने छाड्न नहुने धारणा राखेका थिए ।

गत मंसिर ९ गतेको केन्द्रीय बैठकमा पेश भएको नेपाली कांग्रेसको विधानको मस्यौदाका केही विषयमा नेताहरुबीच फरकफरक धारणा आइरहेका छन् । संस्थापनइतर समूहका नेताहरुले भने पदाधिकारीको संख्या बढाउने, निर्वाचित केन्द्रीय सदस्यको प्रतिशत बढाउने लगाउने विषयमा समान धारणा तय गरेका छन् ।

पदाधिकारीको संख्या बढाउनुपर्ने र ती सबै निर्वाचित हुनुपर्ने संस्थापन इतर पक्षका नेताहरुको समान धारणा छ । त्यस्तै, ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने र १५ प्रतिशत मात्रै मनोनित गर्नुपर्ने, प्रस्तावनालाई फरक ढंगले लेख्ने लगायतका विषयमा पनि उनीहरुबीच मतैक्य छ । संस्थापन पक्षका नेताहरु पनि पदाधिकारीको संख्या बढाउन सहमत नै देखिन्छन्। तर उनीहरुको जोड भने मनोनितको संख्या बढी बनाउनेतिर देखिन्छ।

मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । सो बैठकले नयाँ विधान पारित गर्ने छ ।

प्रतिकृया दिनुहोस