राप्रपा एकता प्रकरण : हात्ति छिर्‍यो, पुच्छर अड्कियो

Rpp neta

काठमाडौं । एउटै विचार भए पनि नेतृत्वमा जुँगाको लडाइँका कारण तीन टुक्रामा विभाजित बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीहरुबीच एकता प्रक्रिया यता न उता भएको छ ।

यतिबेला राष्ट्रिय राजनीतिमा खासै प्रभावमा नरहेका राप्रपा, राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादी आ–आफ्नै झुण्डमा छन् । पूर्व पञ्चहरुको पार्टी भनिएका तीन वटै राप्रपा एकताको प्रयास गरिएको भए पनि पार्टी एकता ‘छेपारोको कथा’झै बनेको छ ।

कुनै बेला वैकल्पिक पार्टी मानिएको राप्रपा तीन टुक्रामा विभाजन भएपछि गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कमल थापाले नेतृत्व गरेका राप्रपाले मात्रै एक सिट जितेको छ । तर, थ्रेस होल्डको व्यवस्थाका कारण राष्ट्रिय पार्टी बन्न भने सकेन ।

आफ्नै तालमा डम्फु बजाउँदै कतै एकल र कतै गठबन्धनमार्फत निर्वाचनमा भाग लिएका राप्रपा प्रजातान्त्रिक र एराप्रपा राष्ट्रवादीले भने शुन्य परिणाममै चित्त बुझाउनुपरेको छ ।

एकल र विभाजित भएपछि निर्वाचनमा भाग लिँदा ‘भीरको चिण्डो बनेको’ महसुस गरेका नेतृत्वले निर्वाचन लगत्तै तीन पार्टी एकताको प्रयास गरेका थिए । त्यसरी प्रयास गरेको पनि झण्डै १० महिना हुन लागिसकेको छ । तर, अहिलेसम्म एकता प्रक्रिया कुरामै सीमित बनेको छ ।

कहाँ अड्कियो कुरा ?
एकताको प्रयासमा जुटेका शीर्ष नेतृत्वहरुबीच पटकपटक छलफलहरु भएका छन् । कात्तिक २५ मा मात्रै पनि तीन पार्टीका शीर्ष नेताहरुबीच भएको छलफलमा चाडै एकता प्रक्रिया टुंग्याउने आपसी सहमति बनेको थियो । त्यसयता, तीन पार्टीका नेताहरुबीच औपचारिक रुपमा संवाद भने भएको छैन ।

तीन वटा पार्टीका शीर्ष नेतृत्वले गरेका अनौपचारिक सहमतिअनुसार पार्टीको नाम र विधानमा सहमति बनिसकेको छ । तर पनि एकता भने अझैं हुन सकिरहेको छैन ।
‘कात्तिक २५ मा भएको भेटघाटमा १/२ दिनपछि फेरि बसौला भन्ने कुरा भएको थियो’ राप्रपाका पूर्व महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देन भन्छन्, ‘अहिलेसम्म अमूर्त कुरा भएका छन्, यसले पार्टी एकतालाई बल पुर्‍याउँदैन ।’

खासगरी तीन वटै पार्टी राजा मान्ने की नमान्ने, हिन्दु धर्म, संघीयता जस्ता विषयमा सैद्धान्तिक रुपमा भने सहमति बनिसकेका छन् । राप्रपा नेताहरुको दावी अनुसार तीन वटै पार्टीले राप्रपाको नाम र विधान मान्न तयार भइसकेका छन् । तर, अहिलेसम्म चुनाव चिन्ह के राख्ने भन्ने विषयमा भने सहमति बन्न सकेको छैन ।

राप्रपाले भने पार्टी र विधान स्वीकारेपछि चुनाव चिन्ह गाई नै हुनुपर्ने तर्क अघि सारेको छ भने अन्य दुई पार्टीले भने यसलाई स्वीकारेका छैनन् ।

नेतामा समस्या
राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिक अध्यक्ष पशुपति समशेर राणा र राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच पार्टी एकताको पहल गर्ने जिम्मेवारी पाएका छन् ।

पछिल्लो समयमा पहिलो तहका नेताहरु पार्टी एकता गर्न तम्सिएका छन् । तर, दोस्रो तहका नेताहरु भने सशंकित बनेका छन् । खासगरी राप्रपाका बुद्धिमान तामाङ, धवल समशेर राणा, प्रजातान्त्रिकका विक्रम पाण्डे, सुनीलबहादुर थापा, ध्रुवबहादुर प्रधान, नवराज सुवेदी लगायतका नेताहरु पार्टी एकताप्रति बढी सशंकित छन् ।

उनीहरु कमल थापा र दीपक बोहराबीच घनिष्टता बढेसँगै थप सशंकित बनेका हुन् । दोस्रो तहका अधिकांस नेताहरु थापा र बोहराबीचको सम्बन्धलाई लिएर प्रश्न उठाउने गर्छन् । उनीहरुको बुझाईमा बोहराले फेरि ‘कुन खाडलमा पार्ने भयो’ भन्ने छ ।

त्यसै पनि तनि वटै राप्रपालाई नेता बढी र कार्यकर्ता कम भएको पार्टी भनेर चिनिन्छ । त्यसमा पनि दोस्रो तहका नेताहरु बीचको टकराव पनि पार्टी एकताका लागि नुनचुक बन्न सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...