भागाभाग हुँदा भीरबाट लडेर एक युवकको मुत्यु

Baitadi

बैतडी । भीरबाट लडेर एक युवकको ज्यान गएको छ । एक युवक घाइते भएका छन् ।

ज्यान जानेमा सिगास गाउँपालिका-५ का १९ वर्षीय बिरे चुनारा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

मंगलबार राति सिगास गाउँपालिका-३ मा रहेको भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका युवाहरुले जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली पुगेको थियो ।

प्रहरीको टोली पुगेपछि भागाभाग हुँदा चुनारा भीरबाट खसेका थिए । उनको भीरबाट खसेर घटनास्थलमै ज्यान गएको थियो । त्यस्तै, भाग्ने क्रममा सिगास ५ का ३४ वर्षीय पते दमाई घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थल क्षेत्रमा जिल्लाबाट अहिले प्रहरी टोली खटाइएको भए पनि टेलिफोन सम्पर्क हुन नसक्दा घटनाको पूर्ण विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

भूमिराज मन्दिरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासमेत दर्शन गर्न गएकाले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिकृया दिनुहोस