प्रहरी हिरासतमा रहेको चिनीमिल सञ्चालक अग्रवाल अस्पताल भर्ना

Norvic hospital 300x200

काठमाडौं । उखु किसानहरुको रकम भुक्तानी नदिएको आरोपमा प्रहरी हिरासतमा रहेका चिनी मिल सञ्चालक राकेश अग्रवाल अस्पताल भर्ना भएका छन् । अग्रवाललाई मुटुको समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको हो ।

उखु किसानको ४७ करोड रुपैयाँ भुक्तानी नदिएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज नवलपरासी र अन्नपूर्ण सुगर मिल्स सर्लाहीका संचालक राकेश अग्रवाललाई मुटुको समस्या देखिएपछि नर्भिक भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार मध्यराती एक्कासी छाती दुख्यो भनेर छटपटिन थालेपछि अग्रवाललाई नर्भिक लगिएको हो । प्रहरीले उनलाई बिहिबार कारबाहीका लागि नवलपरासी पठाउने तयारी गरेपनि अब अस्पतालको अनुमति पर्खनु पर्नेछ ।

गृह मन्त्रालयको पत्र आदेशका आधारमा प्रहरीले उखु किसानको ४७ करोड २७ लाख भुक्तानी नदिने मिल संचालक अग्रवाललाई बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो । गृहको आदेशपत्रपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

लामो समयदेखि उखुको पैसा नपाएका किसानहरूले आपूर्ति मन्त्रालयमार्फत उजुरी गरेका थिए । सोही उजुरीको पत्र आपूर्तिले गृहलाई पठाएर कारबाही अघि बढाउन आग्रह गरेअनुसार अग्रवाल पक्राउ परेका हुन्।

अग्रवाल संचालक रहेको इन्दिरा सुगर मिल्सले ८ करोड ५८ लाख र अन्नपूर्ण सुगर मिल्सले ३८ करोड ६८ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उजुरीमा उल्लेख छ ।

यसअघि अग्रवालसहित चार चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न गृहमा उजुरी परेको थियो । गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका अर्का सञ्चालक ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाललाई पनि तत्काल पक्राउ गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस