स्थानीयको अवरोधबीच गल्छी–रसुवागढी सडक कालोपत्रे सुरु

Sadak pich

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो ।

मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु-याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन प्रालिका इञ्जिनीयर सुरज गौतमले बताए ।

पिपलटारका बासिन्दाले सडकमा पर्ने जग्गाको मुआब्जा नदिइ कालोपत्र थालेको भन्दै विरोध गरेका हुन् । लीलानाथ न्यौपानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरी उनीहरुले आन्दोलन थालेका छन् ।

त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्गको दायाँबायाँ जग्गाको सीमा निर्धारण २०३४ सालमा सडक विस्तारको क्रममा गरिएकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानूनी अभाव रहेको आयोजना प्रमुख सुवोध देवकोटा बताउँछन् ।

‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमी सडक निर्माणको काम भइरहेको छ । आयोजनाको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ ।

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणका लागि नेपाल सरकारले रु नौ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने सो सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ ।

गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्शन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्मको १८ किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरी नेपाली सेनाले गत वर्ष चैत ३० गते आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ ।

प्रतिकृया दिनुहोस