कसरी भागे हिरासतको रड काटेर दुई कैदी ? प्रहरी नै अनुसन्धानको घेरमा

Hirasat skech

विराटनगर । प्रहरीको हिरासत भनेको त्यसै पनि सुरक्षित हुन्छ । र अत्यन्तै संवेदन पनि मानिन्छ । त्यही भएर पनि २४ घण्टा सुरक्षाका लागि हतियारसहित प्रहरी खटाइएको हुन्छ । तर, हिरासतमा रहेका दुई जना कैदी हिरासतको रड काटेर फरार भएका छन् ।

नेपाल–भारत सीमानामा रहेको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका हत्यन आरोपी विराटनगर महानगरपालिका –१७ का २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन हिरासत कक्षको रड काटेर बिहीबार राति फरार भएका हुन् ।

कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका दुई थुनुवा प्रहरीको लापरवाहीका कारण भाग्न सफल भएका हुन् । हिरासत कक्षमा हावा पास हुन पूर्वतर्फ राखिएको भेन्टिलेसनको ६ वटा रड काटेर थुनुवा भागे थिए ।

थुनुवाले फलामको रड काट्दासम्म पनि हिरासत सुरक्षार्थ खटाइएका प्रहरीले थाहा नपाउनुलाई लापरवाहीका रुपमा लिइएको छ ।

उनीहरुले आफ्नै साथी विराटनगर –१७ रानीका १९ वर्षीय मोहम्मद अस्ताकको अपहरणपछि हत्या गरेको आरोप लागेका छ । अस्ताकको शब हत्या गरेर फ्यालेको अवस्थामा गत असोज ७ गते ह्युम पाइप मुनी फेला परेको थियो ।

अनुसन्धान नसकिँदै ड्युटीका प्रहरीको लापरवाहीका कारण अभियुक्त भने प्रहरी हिरासतमा रहेको भेन्टिलेसनको रड काटेर फरार भएका हुन् ।
घटना भएका बेला इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला विदामा थिए । हिरासतबाटै थुनुवा भागेपछि निरौला कार्यालय फर्किएर फरार भएकाको खोजीमा जुटेका छन् ।

घटनास्थलबाट रड काट्नका लागि प्रयोग गरिएको कुनै औजार र काटिएका रडका टुक्रा पनि फेला पर्न नसकेको केसीको भनाइ छ ।

प्रहरी नै अनुसन्धानको घेरामा
जिल्ला प्रहरी कार्यालय मोरङले ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गर्न थालेको छ । घटना भएका बेला त्यहाँ ड्युटी रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर अनुसन्धान सुरु गरिएको र त्यसपछि कारवाही अघि बढाइने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्के समेतलाई जिल्ला तानिएको छ ।

प्रतिकृया दिनुहोस