अन्ततः निर्मला पन्त हत्या प्रकरणमा एसपी र इन्स्पेक्टर बर्खास्त

Nirmala hatya prakarna

काठमाडौं । कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यापछि छानबिनमा लापरवाही गरेको आरोपमा प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त भएका छन् ।

गृह मन्त्रालयले बिहीबार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयकै सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । उनीहरु निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९६ दिनपछि बर्खास्तीमा परेका हुन् ।

साउन १० गते साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । सो घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापरवाही गरेको भेटिएको आरोप छ ।

विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । उनीहरुलाई बिहीबार अन्तिमपल्ट स्पष्टीकरण सोधेर विहीबारै बर्खास्त गरेको हो । दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनमा प्रहरीबाट चरम लापरवाही, गैर व्यवसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार गरी अनुसन्धानमा पालना गर्नुपर्ने सामान्य कानुनी व्यवस्थासमेत पालाना नभएको पाइएको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस