दाउन्नेमा दिउँदै किन बालिन्छ हेडलाइट ?

Daunne sada

कावासोती । दिउँसै हेड लाइट बालेर हिड्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्नसक्छ । तर, अचम्म मान्नु पर्दैन । किनकी आजभोली पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने खण्डमा दिउँसो सवारी साधनले हेडलाइट नबाली सुख्खै छैन ।

अत्यन्त घुमाउरो १९ वटा मोड रहेको दाउन्नेको १४ किलोमिटर पक्की खण्डमध्ये ८ किलोमिटर सडक पूरै भत्किएको र धुलैधुलोले भरिएको छ । जसका कारण राजमार्गको बर्दघाट–दुम्किवास खण्डको १४ किलोमिटर सडक पार गर्न घण्टौं लाग्ने गरेको छ  ।

सडकको धुलोले अधिकांस सवारी साधनहरुले हेडलाइट बालेका हुन्छन् । अत्याधिक धुलोले गर्दा १० मिटर अघिपछि केही पनि देखिँदैन । खाल्डैखाल्डा र धूलोमा घण्टौं जाममा परेपछि यात्रु सास्ती खेप्न बाध्य भएका छन्  ।

जताततै भत्किएको र अचाक्ली बाक्लो धूलोका कारण यातायातका साधनले दिउँसै हेडलाइट बाल्नुपर्ने अवस्था छ । ‘हेडलाइट नबाले कि त आफैंले अरुलाई ठक्कर दिनुपर्छ या अरुले आफुलाई दिन्छ’ चालक अरविन्द यादवले भने, ‘बाटै यस्तो छ, हामी त हैरान भइसक्यौं ।’

यो सडक खण्डमा पचि नभएकोपनि होयन । प्रत्येक वर्ष पिच भएको देख्न पाइन्छ । तर, अहिले सो सडक खण्डमा पिच गरेको ठाउँ देख्न मुस्किल पर्छ । जताततै भत्किएको छ । सडकमा खाल्डाखुल्डी धेरै छन् ।

राजमार्गमा जताततै खाल्डै खाल्डा हुँदा पनि मर्मतका लागि सडक डिभिजन कार्यालय उदासिन रहेको चालकहरू बताउँछन् । सडक कार्यालयले महेन्द्र राजमार्गमा खाल्डा परेको २४ घण्टाभित्र पुर्नुपर्ने नियम रहे पनि त्यसको पालना यहाँ भएको छैन ।

सो सडक खण्ड बिनयी त्रिवेणी गाउँपालिकामा पर्छ । तर, न गाउँपालिकाले सक बनाउन ध्यान दिन्छ, न त सडक बनाउने जिम्मा पाएको सडक डिभिजन कार्यालयले नै । बरु सडक बनाउने जिम्मेवारी पाएका निकायहरुका लागि जति सडक बिग्रियो, त्यति कमिसन आउने हुनाले बिग्रियोस् भन्ने सोच हुन्छ ।

प्रतिकृया दिनुहोस