वाणिज्य बैंकको आक्रामक ऋण लगानी

Rastriya banijya bank

काठमाडौं । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामकरुपमा ऋण लगानी गर्न थालेका छन् । चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले रु ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा रु.९३ अर्ब ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले रु. २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेका छन् भने रु.२२ खर्ब आठ अर्ब ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम रु.तीन खर्ब १२ अर्ब छ ।

गत साउन २५ गतेसम्म बैंकले रु.२४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म रु २१ खर्ब १५ अर्ब ऋण लगानी गरेका बैंकले ऋण लगानी बढाएर असोज सो अवधिमा रु.२२ खर्ब आठ अर्ब पु-याएका छन् ।

ऋण लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्ध देखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले रु आठ अर्ब निक्षेप सङ्कलन गर्दा सोही अवधिमा रु.१९ अर्ब ऋण लगानी गरेका छन् । निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीका कारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ ।

चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकले लगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारण ऋणको मात्रा बढेको हो ।

प्रतिकृया दिनुहोस