दसैंमा सर्वसाधारण महंगीको मारमा, कर्मचारीको खल्तिमा भने साँढे ६ अर्ब

Nepali rupies

काठमाडौं । हिन्दुहरुको महान चाड दसैं आउनै लागेको छ । तर, महंगी अचाक्ली बढेको छ । सर्वसाधारणलाई कसरी दसैं मनाउने भन्ने पिरलो छ । यही बेला सरकारले सरकारी कर्मचारकिा लागि भने दसैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ वितरण गर्ने भएको छ ।

निजामती र सुरक्षाकर्मीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडबाड खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम भुक्तानी दिँदै आएको छ ।

सामान्यतयाः हिन्दूहरूको चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ । तर ईद, क्रिसमस लगायतका चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा सो भत्ता लिन पाउने व्यवस्था छ ।

यसरी अतिरिक्त रकम बुझ्नेमा डेढ लाख शिक्षक छन् भने करिब एक लाख पेन्सनधारी छन् । त्यसबाहेक निजामती सेवाको करारमा करिब २२ हजार कर्मचारी छन् । स्थानीय तहतर्फ आठ हजार कर्मचारी कार्यरत छन् ।

सरकारले विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैं पेस्की दिने गरेको छ । तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन् ।

अर्थ मन्त्रालयका अनुसार यो वर्ष सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्चअन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागेको छ ।

सरकारले यो वर्ष दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ । सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ ।

यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस