रञ्जु दर्शनाको छातीमा टाँसियो ‘सरकार किन झुक्दै ? बलात्कारी किन लुकाउँदै ?

Nirmala pradarsan 13

काठमाडौं । गत साउन १० मा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर, यतिका समय भइसक्दा पनि सो घटनामा संलग्नको अत्तोपत्तो लाग्न सकेको छैन ।

हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग लामो समयदेखि काठमाडौं लगायत देशभर प्रदर्शन पनि भइरहेका छन् । शनिबार मात्रै कञ्चनपुर र काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भयो ।

निर्मला पन्तको न्यायका लागि स्वतःस्फुर्त रुपमा शनिबार माइतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे ।

घटना भएको दुई महिना बितिसक्दा पनि दोषि पत्ता नलाग्नु र छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधिको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकारविरद्ध नाराबाजी गरेका थिए ।

छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्यूनिकरणको मागसहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि सहभागी भएका थिए । त्यही प्रदर्शनमा सहभागी थिइन् रञ्जु दर्शना पनि ।

उनी गत स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार बन्दा निक्कै चर्चित बनेकी थिइन् । उनी शनिबार माइतीघरमा भएको प्रदर्शनमा सहभागी बन्दा उनको छातीमा ‘सरकार किन झुक्दै ? बलात्कारी किन लुकाउँदै ? नारा लेखिएको प्लेकार्ड टाँसिएको थियो ।

कञ्चनपुरमा धर्ना
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै महिला अधिकारकर्मी धर्नामा बसेका छन् ।

नागरिक संघर्ष समितिको अगुवाइमा शनिबार महिला अधिकारकर्मी धर्नामा बसेका हुन् । उनीहरुले शनिबार बिहान ९ बजेदेखिे महेन्द्रनगरको मदन चोकस्थित भेटघाट चौतारीमा धर्ना सुरु गरेका हुन् । धर्ना बेलुकी ५ बजेसम्म जारी रहने नागरिक संघर्ष समितिका संयोजक मीना भण्डारीले जानकारी दिइन् ।

हत्यारालाई पक्राउ गर्नुपर्ने मागसहित महेन्द्रनगरमा आन्दोलन सुरु भएको थियो । आन्दोलनकै क्रममा भदौ ७ र ८ गते प्रहरीले गोली चलाएपछि सरकारले छानबिन गर्न उच्चस्तरीय समिति बनायो । भदौं ८ गते महेन्द्रनगर पुगेर उच्चस्तरीय छानबिन समितिले अनुसन्धान थालेको थियो ।

उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन गृह मन्त्रालयलाई बुझाइसकेको छ । प्रतिवेदनमा तत्कालीन प्रहरी नेतृत्वले अनुसन्धानमा त्रुटि गरेको ठहर गरिएको भन्ने सामान्य जानकारीबाहेक अन्य कुरा सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस