मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार सारुलाई

Saru

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले मीना सिर्जनशील पत्रकारिता पुरस्कार २०७४ रेडियो नेपालका खेमबहादुर सारु मगरलाई प्रदान गरिएको छ ।

प्रदेशसभा सदस्य मीना गुरुङले स्थापना गर्नुभएको पुरस्कारको राशि रु २० हजार एक नगदसहित सम्मानपत्र छ । गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आज यहाँ आयोजित एक समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरे ।
सो अवसरमा कार्यवाहक मुख्यमन्त्री गुरुङले पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै विद्यमान सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकार जगत् सक्रिय हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

समाजको मनोवृत्ति गलत बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सामाजिक सद्भाव र सदाचार अभिवृद्धिका लागि सकारात्मक सोचको विकास गराउनेतर्फ सञ्चारकर्मी उन्मुख हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले मुलुकी संहितामा पत्रकारिता क्षेत्रलाई अङ्कुश लगाउने गरी उल्लेख गरिएका बुँदा हटाइनुपर्नेमा जोड दिदैं यदि त्यस्ता बुँदा नहटाइएमा महासङ्घ आन्दोलनमा उत्रन वाध्य हुने बताए ।

प्रदेशसभा सदस्य एवं पुरस्कारका संस्थापक मीना गुरुङ, प्रदेशसभा सदस्य कृष्ण थापा, नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोला, पुरस्कार छनोट समितिका संयोजक नारायण कार्की, महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव रामप्रसाद तिमल्सिना, शान्तिका लागि नागरिक सञ्जाल कास्कीका अध्यक्ष विष्णु बराल, रुद्रबहादुर खत्रीलगायतले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने आवश्यकता औल्याए ।

प्रतिकृया दिनुहोस