मानव बेचबिखनको नयाँ मार्ग : यस्तो छ काठमाडौं–दिल्ली–खाडी ‘कनेक्सन’

Cij story

काठमाडौं । ३ वैशाख २०७५ मा पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकी नाकाहुँदै भारत छिर्न खोजेका दुई महिला त्यहीं रोकिए । सीमा प्रहरी र माइती नेपालको ‘बोर्डर सर्भिलेन्स टीम’ लाई उनीहरूको व्यवहार ‘शंकास्पद’ लाग्यो । ती महिलाले भन्न त ‘नयाँ वर्षमा दिल्ली घुम्न जान लागेको’ भने तर, उनीहरूसँग घुमफिर गर्ने पर्याप्त पैसा थिएन र कहाँ–कहाँ घुम्न जान लागेको हो भन्ने जानकारी पनि थिएन । प्रहरीले उनीहरूलाई भारत जान दिएन ।

इलाका प्रहरी कार्यालय, गड्डाचौकीका प्रहरी नायव निरीक्षक डिकरदेव पन्तका भनाइमा ‘घुम्न जान लागेको’ भने पनि कहाँ–कहाँ घुम्न जाने, कसरी घुम्ने योजना छ भन्ने प्र्र्र्रश्न सोध्दा उनीहरू घरी एकअर्कामा मुखामुख गर्थे, घरी अलमलिन्थे । त्यसमाथि ती दुई महिलाले दिएको जवाफ पनि एकअर्कासँग मिलिरहेको थिएन ।

प्रहरीले थप सोधपुछ थालेपछि बल्ल खुल्यो रहस्यः उनीहरू भारतहुँदै कुवेत जान हिंडेका रहेछन् ! घुम्न जाने भनेको नयाँदिल्ली त उनीहरूको ‘ट्रान्जिट’ मात्रै रहेछ । कुवेत हिंडेका ती महिलाहरूमा सिन्धुपाल्चोक थाङपालधापकी ३५ वर्षीया कौशिला तामाङ र भोटेनाम्लाङकी ३२ वर्षीया रमिला तामाङ थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाल भन्छन्, ‘मानव तस्करहरूले आज पनि नेपाली महिलालाई भारतहुँदै दिनहुँजसो खाडी मुलुकमा पठाइरहेका छन् । वैदेशिक रोजगारको आवरणमा चेलीबेटी बेचबिखन धन्दा चलाउनमा नवतस्करहरूले नेपाल गतिलो स्रोत मुलुकको रूपमा लिइरहेको भान भएको छ ।’

वैदेशिक रोजगारीको लागि नेपालबाट खाडी मुलुकमा जाँदा अनिवार्य श्रम स्वीकृति लिएर जानुपर्छ । साथै उनीहरूले विदेशमा काम गर्न जाँदा स्वदेशकै विमानस्थलबाट जानुपर्ने हुन्छ । कौशिला र रमिला जस्ता महिला भारतहुँदै खाडी मुलुक जान खोज्नुको कारण हो, उनीहरूसँग श्रम स्वीकृति नहुनु । विना श्रम स्वीकृति खाडी मुलुक जान खोज्ने कामदारलाई दलालले नेपालको दक्षिणी खुला सीमा प्रयोग गरी जहाँबाट सजिलो हुन्छ त्यहाँबाट भारत छिराउन खोज्छन् । यसरी सीमा पार गराउन खोज्दा यदाकदा कतिपय समातिन्छन् पनि । कौशिला र रमिला त्यसमध्येका उदाहरण हुन् ।

गरीबी, अशिक्षा र बेरोजगारी
हामीले भारतहुँदै खाडी मुलुक जान हिंडेका तर बाटोमा प्रहरीले समातेर घर फर्काइएका अनि खाडी मुलुकमा वर्षौंसम्म हण्डर खाएर फर्किएका १६ जना महिलाको विवरण अध्ययन ग¥यौं । 

त्यसको सार के थियो भने, भारतहुँदै खाडी मुलुक जान खोज्ने महिला प्रायः सबैजसो गरीब, अशिक्षित र बेरोजगार छन् । सबैजसो बेचबिखन पीडित महिलाले आफूहरू ‘रहरले नभई बाध्यताले खाडी मुलुक जान लागेको र गएको’ बताएका थिए । उनीहरूको भनाइ थियो– ‘घरमा आम्दानीको स्रोत नभएकाले पैसा कमाउन जान लागेका हौं, अथवा गएका हौं ।’

जस्तो कि नयाँदिल्लीबाट कुवेत जान खोजिरहेकी सिन्धुपाल्चोक थाङपालधापकी कौशिलालाई थाहा थियो– उनी गैरकानूनी तरिकाले खाडी जान खोजिरहेकी छिन् । तर, घरमा बालबच्चा पाल्ने पैसा नभएपछि उनी ‘बेचिन’ तयार भइन् । कौशिलाले भनिन्, ‘नेपालमै बसेर पैसा कमाउन सकेको भए यस्तो दुःख गरेर हिंड्थ्यौं र हामी ?’ हुन पनि उनका १० वर्ष मुनिका तीन वटी छोरी छन् । आम्दानीको स्रोत छैन, पालनपोषणमा कठिनाइ छ ।

पैसा कमाउने ध्याउन्नमा धेरैलाई सम्भावित जोखिमको हेक्का नै हुँदैन । ओमन र कुवेत बसेर एक वर्षअघि नेपाल फर्किएकी दोलखा ओराङकी एलिसा तामाङले प्रहरीलाई दिएको बयानबाट पनि यो थाहा हुन्छ । एलिसाले बयानमा भनेकी छिन्, “धेरै महीनासम्म जागिर खोजें पाइनँ, घरखर्च चलाउनै नसकेपछि भारतहुँदै कुवेत गएकी हुँ ।’

दलालहरूले आफूहरूलाई ‘चोरबाटो’ बाट कुवेत पठाउँदैछन् भन्ने थाहा हुँदाहुँदै पनि जान तयार भएकी रमिला तामाङ निरक्षर छिन् । स्कूल जाने उमेरका दुई छोराछोरीकी आमा रमिलाका बाबुआमा रोगी र अशक्त छन् । खर्च धेरै छ, आम्दानी छैन । भूकम्पले लडाएको घर पनि पुनर्निर्माण गर्न सकेकी छैनन् । ‘न छोराछोरी पढाउन सकें, न घर बनाउन पैसा भयो’ रमिलाले भनिन्, “विदेश गए केही पैसा कमाउन सकिन्छ कि भनेर हिंडें, सिमानाबाट प्रहरीले समात्यो ।’

सिन्धुपाल्चोक प्रहरीका अनुसार, २०७२ वैशाखमा आएको भूकम्पबाट प्रभावित क्षेत्रका महिलालाई भारत हुँदै वैदेशिक रोजगारीको नाममा खाडी मुलुकमा पठाउन दलाललाई झन् सजिलो भएको छ । “यहाँ (सिन्धुपाल्चोक) का बासिन्दा पहिलेदेखि नै गरीब छन्, रोजगारी छैन, शिक्षित पनि छैनन्” सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक विमलराज कँडेल भन्छन्, ‘झन् भूकम्पले भएको घर पनि भत्काइदिएपछि महिलाहरू पैसा कमाउन सकिन्छ कि भनेर खाडी जान लोभिने गरेका छन् ।’ उनले सिन्धुपाल्चोक जिल्लाको पनि दुर्गम भेगका, आर्थिक रूपले विपन्न र अशिक्षित धेरै महिला अहिले पनि मानव तस्करहरूको फन्दामा परिरहेको बताए ।

प्रहरीका भनाइमा, कामको खोजीमा रहेका विपन्न युवा महिलालाई ‘विदेश लगेर राम्रो कमाइ हुने काममा लगाइदिने’ भनेर लोभ देखाउने गरिन्छ । ‘पैसा कमाउने लोभमा महिलाहरू पनि जुनसुकै देश जान तयार हुन्छन्” सिन्धुपाल्चोकका प्रहरी नायव निरीक्षक ख्याली सिंहले भने, ‘महिलाको अज्ञानताको फाइदा उठाउँदै दलालहरूले वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन धन्दा निर्वाध रूपमा चलाइराखेका छन् ।’

बेचबिखनको सामाजिक–आर्थिक पक्ष विश्लेषण गर्ने गैरसरकारी संस्था शक्ति समूह नेपालकी अध्यक्ष सुनिता दनुवारले भनिन्, ‘अहिले पनि दलालहरूले आम्दानीको स्रोत नभएका, जागिर नपाएका र अशिक्षित महिलाहरूलाई काममा लगाइदिने प्रलोभनमा पारेर बिक्री गरिरहेका छन् ।’ सुनिता कुनै बेला आफू समेत बेचबिखनमा परेर ठूलो कष्ट भोगेर नेपाल फर्किएकी महिला हुन् । उनी विगत २२ वर्षदेखि चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय एक अधिकारकर्मी हुन् ।

छोरी–श्रीमती नै बिक्री

आश्चर्यको कुरा–पैसा कमाउने आशामा मानिसहरू आफ्नै परिवारका सदस्य, नातेदार वा छिमेकीलाई गैरकानूनी रूपमा विदेश पठाउन मानव तस्करको सहयोगी भइरहेका छन् । पैसा कमाउने आशमा आफ्नै श्रीमती, छोरी–बुहारी र भाउजूलाई खाडी मुलुक पठाउन मानव तस्करलाई सघाउने आफन्त पनि हुँदा रहेछन् । त्यस्तै चिनेजानेकै महिलालाई दिल्ली पु¥याएर मानव तस्करहरूको जिम्मा लगाएर आफन्तहरू फर्किएको पनि भेटियो ।

कुवेत जान लागेकी एक महिलाको भनाइबाट पनि यो कुरा पुष्टि हुन्छ । ‘मलाई मेरै जेठाजु (जाले गोले) ले विदेश पठाइदिन्छु भनेको हुनाले जान लागेकी हुँ” सीमा क्षेत्रमा प्रहरीले पक्राउ गरेकी रमिला तामाङले भनिन्, ‘जेठाजुले राम्रो कमाइ हुन्छ भनेपछि म जान राजी भएँ ।’

जाले गोले सिन्धुपाल्चोकका स्थानीय हुन् । गाउँमा उनी ‘विदेश पठाउने व्यक्ति’ का रूपमा चिनिन्छन् । जाले कहिलेकाहीं मात्र गाउँ आउँछन्, धेरैजसो भारतमै बस्छन् । रमिलालाई कुवेत पठाउन उनकै ३२ वर्षीय देवरले जालेलाई साथ दिएका थिए । जालेले इराकमा रहेका रमिलाका श्रीमान्सँग पनि कुरा मिलाएका थिए ।

रमिलासँगै कुवेत जान हिंडेकी कौशिलालाई विदेश पठाउन उनकै ३५ वर्षीय श्रीमान्ले दलाल जालेलाई साथ दिएका थिए । महिलालाई अवैध रूपमा खाडी मुलुक पठाउँदा मानव तस्करहरूले परिवारका सदस्यलाई समेत विश्वासमा लिएर काम गर्छन् भन्ने एउटा उदाहरण हो यो । यसमा दुईथरी आफन्तहरू भेटिएका छन् । एकथरी, कमाइको लोभमा ठूलो जोखिमप्रति अनभिज्ञ देखिन्छन् भने अर्कोथरीकाको त नियत नै बिक्री गर्ने पनि देखिएको छ ।

२०७४ फागुनमा आफ्नी १४ वर्षीया छोरीलाई मानव तस्करहरूकहाँ पु¥याउन लिएर जाँदै गर्दा उनका ४२ वर्षीय बाबु नेपाल–भारत सीमाबाट पक्राउ परे । उनले पैसा नभएकोले छोरीले कमाउली भनेर तस्करहरूकहाँ पु¥याउन लागेको प्रहरीसामु स्वीकार गरे । सिन्धुपाल्चोक लिसंखुपाखरका ती बाबुलाई केही समय थुनेर प्रहरीले छोड्यो ।

अर्को उदाहरण पनि छ । एक वर्षअघि ओमन पठाइएकी पछि ओमनबाट कुवेत पु¥याइएकी दोलखा ओराङकी एलिसालाई उनकै श्रीमान्ले दिल्लीमा बसेर दलालसम्म पु¥याएका थिए । त्यहाँ एलिसा यौन शोषणमा परेको थाहा पाएपछि उनका श्रीमान्ले नै उनको उद्धारमा सहयोग गरेका थिए । यसरी हेर्दा कतिपय अवस्थामा परिवारका सदस्यले सम्भावित जोखिम थाहा नपाएर र पैसा कमाइ हुने आशामा पनि बेचबिखनलाई सहयोग गरिरहेको पाइन्छ ।

खुला सिमाना सहज

नेपाल–भारत खुला सिमाना मानव तस्करीका लागि सजिलो मार्ग भएको छ । नेपाल भारतबीच स्थल मार्गबाट आवतजावत गर्दा राहदानी वा परिचय पत्र खोजिंदैन । दुवैतर्फका सीमा प्रहरीले हत्तपत्त सोधखोज गर्दैनन् । यसले गर्दा नेपाली महिला र किशोरीलाई विभिन्न बहानामा भारत पु¥याउन र त्यहाँबाट खाडी पठाउन दलालहरूलाई सजिलो भइरहेको छ ।

नेपाल र भारतबीच १,६९० किलोमिटर सिमाना जोडिएको छ । जहाँ आवतजावत गर्ने २० औपचारिक नाका छन् । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको नेपालगन्ज, कपिलवस्तुको कृष्णनगर, रूपन्देहीको सुनौली, पर्साको रक्सौल र वीरगन्ज, धनुषाको जयनगर, मोरङको जोगबनी र झापाको पानीट्यांकी नाकाबाट दैनिक धेरै आवतजावत हुन्छ । खुला सीमा भएकाले त्यस बाहेकका ठाउँबाट पनि मानिसहरू सहजै ओहोरदोहोर गर्न सक्छन् ।

मानिस धेरै ओहोरदोहोर गर्ने एक मुख्य नाका कञ्चनपुरको गड्डाचौकी नजिकै रहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले भने, “भारत छिर्न विभिन्न वहाना बनाएर झुक्याउँछन् । हामीलाई पनि पत्ता लगाउन कठिन पर्छ ।’ कञ्चनपुरबाट भारतको राजधानी नयाँदिल्ली ३३७ किलोमिटर दूरीमा पर्छ । नजिकै भएका कारण पनि हुन सक्छ महिला र किशोरीलाई भारत छिराउन एजेन्टहरूको छनोटमा गड्डाचौकी नाका प्राथमिकतामा परेको देखिन्छ । २०७१ असार यता मात्रै यहाँबाट भारत छिर्न खोज्ने ८८७ किशोरी र महिलालाई नेपाल फर्काइएको छ ।

हुन पनि दलालहरूले महिलालाई सीमापार गराउँदा प्रहरीले अरू देश जान लागेको चाल नपाओस् भनेर अनेक जुक्ति निकाल्ने गर्छन् । महिला र किशोरीलाई ‘घुम्न वा काम गर्न दिल्ली जान लागेको भन्नु’ भनेर सिकाउँछन् । प्रहरीले सोधपुछ गर्दा पनि महिला र किशोरीले दलालले सिकाएकै कुरा हुबहु भन्छन् । विष्टले भने ‘रोजगारीको लागि भारत जान लागेको हो भन्छन्, हो/होइन छुट्याउनै कठिन ।’

महिलाहरूलाई भारत छिराउने तस्करहरूले प्रयोग गर्ने उपाय अरू पनि छन् । किनमेलको लागि दशगजा नजिकैको भारतीय बजारमा जान लागेको भन्नु भनेर सिकाउँछन् । पैदल सीमा पार गरेर भारतीय भूमि टेकेपछि बसमा चढाएर दिल्ली पु¥याउँछन् । कतिपय दलालले सीमा क्षेत्र घुमघामको लागि भन्दै टाँगा, रिक्सा जस्ता साधनमा चढाएर सीमा पार गराउँछन् ।

हुँदाहुँदा भेष बदलेर समेत सीमा पार गराउन खोजेको पनि भेटियो । झण्डै एक वर्ष अगाडि सिन्धुपाल्चोककी १६ वर्षीया एक किशोरीलाई गेरु बस्त्र लगाएर भिक्षुको रूपमा सीमा पार गराइरहेका बेला माइती नेपालले कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरेको थियो । उनलाई नेपालको सीमा पार गर्ने क्रममा प्रहरीले सोधखोज गरे ‘भारतको धर्मशालामा पढ्न जान लागेको भन्नु’ भनेर सिकाइएको थिए ।

दलालहरूले महिलालाई अरू पनि धेरै कुरा सिकाउँछन् । जस्तो कि प्रहरीले सोधपुछ गर्दा धेरै नबोल्न भनिएको हुन्छ । धेरै बोल्दा कुरा ‘चिप्लिने’ डर धेरै हुन्छ । दलालको सिकाइ अनुसार महिलाहरू थोरै बोल्ने र सोझा छौं, ढाँट्न जान्दैनौं भन्ने देखाउन चाहन्छन् । बिरामी भएको बहाना गरेर उपचारका लागि भारत जान लागेको भन्ने धेरै हुन्छन् । रूपन्देहीको भैरहवा नाका हुँदै भारत छिरेर कुवेत पुगेकी  दोलखा ओराङ–७ कि २२ वर्षीया एलिसा तामाङले नेपाल फर्केपछि भनिन्, ‘दलालले बिरामी भएकोले उपचार गर्न जान लागेको भन्नु भनेर सिकाएको थियो, त्यही भनेर भारत छिरेकी थिएँ ।’

भारत छिर्न राहदानी नचाहिने भएपछि मानव तस्करहरूले खाडी जान तम्तयार महिलाका राहदानी आफैं राख्छन् । भिसा प्रक्रिया सबै मिलाइसकेपछि मात्र उनीहरूले महिलालाई दिल्लीमा बोलाएर राहदानी दिन्छन् । खाडीको कुन मुलुकमा, कहिले, कसरी ती महिलाहरूलाई पठाउने भन्ने ‘सेटिङ’ उनीहरूले दिल्लीमै बसेर मिलाउँछन् । कुवेत जाने उद्देश्यले भारत छिर्न लाग्दा सीमा क्षेत्रबाट पक्राउ गरेका कौशिला र रमिलाले भनेका थिए, ‘हाम्रो पासपोर्ट कहाँ छ, हामीलाई थाहा छैन, पहिले नै उनीहरू (दलाल) लाई दिएका हौं ।’

भारतीय प्रहरीका एक अधिकारीले चाहिं नेपालका प्रहरीसँगको मिलेमतो विना मानव तस्करहरूले नेपाली चेलीबेटी ‘सप्लाई’ गर्नै नसक्ने दाबी गरे । नाम नबताउने शर्तमा ती भारतीय प्रहरी अधिकारीले भने, ‘नेपालको पुलिसले राम्रोसँग चेकजाँच गर्ने हो भने यो अपराध धेरै हदसम्म रोक्न सकिन्छ । तर, नेपालको प्रहरी र सीमा क्षेत्रमा काम गर्ने संघसंस्थाले राम्ररी चेक नै गर्दैनन् ।’ गैरकानूनी तरिकाले नेपालबाट खाडी जान भारत छिरेका महिला र दलाललाई आफूहरूले गिरफ्तार गरेको उदाहरण दिंदै ती भारतीय प्रहरी अधिकारीले भने ‘उता (नेपाल) बाट नछोड्ने भए यहाँ नियमित जसो कसरी आइपुग्छन् त ?’

भारतमा ठ्याक्कै कति नेपाली विभिन्न पेशा गरेर बसिरहेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि भारत नेपालीको रोजगारीको लागि प्रमुख गन्तव्य हो । सन् २००९ मा विश्व बैंकले गरेको अनुमान अनुसार भारतमा ८ लाख ६७ हजार नेपाली काम गरिरहेका थिए । त्यसैले अहिले जानेहरूले पनि ‘काम गर्न, उपचार गर्न वा आफन्त भेट्न जान लागेको’ भनेर प्रहरीलाई झुक्याउने गरेका छन् ।

दर्ता हुँदैनन् उजुरी

वैदेशिक रोजगारीको आवरणमा भएका कारण मानव बेचबिखन र ओसारपसारको विषय सम्बोधन गर्न कानूनी जटिलता पनि छ । यो मामिला सम्बोधन गर्ने दुई वटा कानून छन् : वैदेशिक रोजगार ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ । वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनबारे केही उल्लेख नै छैन । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा वैदेशिक रोजगारको नाममा हुने बेचबिखनलाई समेटिएको छैन । त्यही कारण वैदेशिक रोजगारको नाममा मानव बेचबिखन गर्नेहरू कारबाहीबाट जोगिइरहेका छन् ।

शक्ति समूह, नेपालकी सुनिता दनुवारले भनिन्, ‘कानूनी जटिलता देखाएर प्रहरीले मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता गर्न मान्दैन, अदालतले पनि राम्रो व्यवहार गरेको पाइँदैन ।’ उनले दुई वर्ष अगाडि बेचिएकी एक युवतीलाई लिएर उजुरी दर्ता गर्न जाँदा सिन्धुपाल्चोक प्रहरीले इन्कार गरेको स्मरण गरिन् । भनिन्, ‘बम्बईको कोठीमा लगेर बेच्नुलाई मात्र बेचबिखन भन्ने मानसिकता छ, अहिले वैदेशिक रोजगारीको नाममा भइरहेको बेचबिखनलाई न प्रहरीले बेचबिखन मान्छ, न अदालतले ।’

कानूनी जटिलता, आफन्तहरूको संलग्नता र अशिक्षा, अज्ञानता जस्ता कारणले बेचबिखनका मुद्दा साह्रै थोरै मात्रै प्रहरीसम्म पुग्छन् । यसले नेपालमा बेचबिखन धन्दा ठूलो भए पनि प्रहरीको तथ्याङ्कले यो समस्या भयावह छ भन्ने देखाउँदैन । नेपाल प्रहरीका अनुसार, चालू आर्थिक वर्षको ११ महीनामा मुलुकभर मानव बेचबिखन तथा ओसारपसारका जम्मा २३३ वटा मुद्दा दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०७३/७४ मा २२७, आव २०७२/७३ मा २१२, आव २०७१/७२ मा १८१, आव २०७०/७१ मा १८६ र आव २०६९/७० मा १४४ वटा मुद्दा दर्ता भएका थिए ।

नेपाल प्रहरीका सूचना अधिकारी एसएसपी शैलेश थापा क्षेत्रीले भने, ‘सबै पीडितहरूले मुद्दा दर्ता गर्दैनन्, सबैले मुद्दा दर्ता गर्ने हो भने बेचबिखनको भयावह तस्वीर बाहिर आउँथ्यो ।’ धेरैजसो बेचबिखनमा संलग्न पीडकहरू र पीडितहरूको बीचमा नातागोता वा कुनै प्रकारको चिनाजानी हुने भएकोले पीडितले मुद्दा दर्ता गर्न हिचकिचाउने उनको भनाइ थियो । ‘नाता वा चिनेजानेका व्यक्ति विरुद्ध मुद्दा दर्ता गर्न पीडितहरू मान्दैनन्’ क्षेत्रीले भने, ‘दर्ता गर्न खोज्नेहरूलाई पनि विभिन्न प्रलोभन देखाएर पीडकहरूले रोक्ने गरेको भेटिएको छ ।’

पीडितले मुद्दा दर्ता नगर्नुमा अरू केही कारणहरू पनि छन् । पीडित आफैं राजीखुशीले विदेश जान तयार भएका हुन्छन्, त्यसैले बाटोबाटै प्रहरीले पक्राउ गरे पनि उनीहरूले पीडक विरुद्ध मुद्दा हाल्दैनन् । त्यसमाथि बेचबिखनमा परेका धेरैजसो महिला अशिक्षित हुने भएकोले मुद्दामामिला कसरी गर्ने भन्ने जानकारीको अभाव रहन्छ । ‘बेचिने महिलामा चेतनाको अभाव छ, अदालती प्रक्रिया थाहा छैन’ क्षेत्रीले भने, ‘विदेशमा भएका महिलाले न्याय पाउन त झनै कठिन छ ।’

मुद्दा दर्ता नै नहुनाले पक्राउ परेका अभियुक्तहरू पनि सजिलै रिहा हुन्छन् । उनीहरूमाथि कुनै कारबाही प्रक्रिया अघि बढ्दैन । सीमापार अपराध भएका कारण अभियुक्त पक्राउ गर्न सजिलो छैन । मानव बेचबिखनमा ठूलै गिरोह संलग्न हुने भएकोले प्रहरीले पनि हत्तपत्त जोखिम लिएर अनुसन्धान अगाडि बढाउन चाहँदैन । ‘पीडितहरू हामीसामु खुल्दैनन्, उनीहरूले सत्यतथ्य बताउन चाहेनन् भने हामी पनि कर गर्दैनौं’ नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘पीडित नै चाहँदैनन् भने हामीले मात्र किन जोखिम लिने ?’

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार बेचबिखनमा परेका पीडितहरूको बयान जिल्ला अदालतबाट प्रमाणित नगरी कारबाही प्रक्रिया शुरू हुँदैन । पक्राउ परेका थुप्रै पीडितले प्रहरीसामु एकथरी र अदालतमा अर्कोथरी बयान दिएर आफूलाई अप्ठेरो पारेको अनुभव प्रहरीसँग छ ।

यी कारणहरूले गर्दा प्रहरीको काम सीमा पार गर्न खोज्ने चेलीबेटी र तिनलाई लिएर दिल्लीसम्म पु¥याउन हिंडेका अभियुक्तलाई समाउने र केही दिन प्रहरी हिरासतमा राखेर छोडिदिनेमा सीमित भएको छ । ‘हामीले ओसारपसारमा संलग्न थुप्रै व्यक्तिलाई पक्राउ त गरेका छौं तर मुख्य व्यक्तिहरू कारबाहीको दायरामा आउन सकेका छैनन्’ महानगरीय अपराध महाशाखा, टेकूका प्रहरी नायव उपरीक्षक मनोहर भट्ट भन्छन्, ‘नेपालका महिला र किशोरी कुवेत, यूएई, बहराइन, ओमन, कतार, साउदी अरेबिया लगायतका मुलुकमा बेचिन्छन् तर विभिन्न कारणले तस्करहरू समाउन सकिएको छैन ।’

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले पनि बेचबिखनको समस्या भयावह छ भन्ने प्रहरीकै बुझाइ सही रहेको पुष्टि गर्छ । आयोगको प्रतिवेदन अनुसार, सन् २०१५–१६ मा २३ हजार २०० व्यक्ति बेचबिखनमा परेको अनुमान छ । जसमध्ये, ६ हजार १०० बेचिएका, १३ हजार ६०० लाई बेच्ने प्रयास गरिएको र ३ हजार ९०० सम्पर्क भन्दा बाहिर रहेको आयोगको भनाइ छ । खोज पत्रकारिता केन्द्र

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति ...