प्रकाण्डलाई सर्वाेच्चको न्याय, प्रहरीको अन्याय !

‘प्रकाण्ड’लाई तेस्रो पटक उपस्थित गराउन सर्वाेच्चको आदेश

Prakanda 1

काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तेस्रो पटक सर्वोच्च उपस्थित गराउन आदेश दिएको छ ।

दुई पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिने तर प्रहरीले अदालतबाट बाहिरिए लगत्तै पक्राउ गर्दै आएको छ । हाल उनी नुवाकोट प्रहरी अनुसन्धानमा रहेका छन् । स्काइभेटरमा आगजनी गरेको आरोपमा उनलाई अनुसन्धान गर्न नुवाकोट लगिएको हो ।

सर्वोच्चले प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा पहिलो सुनुवाइ गर्दै २४ घन्टाभित्र पेश गर्न आदेश दिएको हो ।

यसअघि दुई पटक सर्वोच्चले यस्तै आदेश गरेको थियो । पहिलो पटक सर्वोच्चले ४८ घन्टाभित्र प्रकाण्डलाई पेश गर्न आदेश गरेको थियो । प्रकाउ पर्ने र छुट्ने श्रृखला चलिरहेको समयमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको इजलाशले बाटोको म्यादबाहेक २४ घन्टाभित्र उपस्थित गराउन भनेको हो ।

भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो । साउन २२ गते काठमाडौंको चोभारबाट सिआइबीको टोलीले उनलाई गिरफ्तार गरेको थियो । लगत्तै नरेन्द्रबहादुर विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गरेपछि उनलाई रिहा गर्न आदेश भएको थियो ।

बिहीबार मात्र सर्वोच्चले उनलाई पक्राउ गर्दा हालै लागू भएको मुलुकी संहिताका व्यवस्थाहरु ख्याल गर्न नेपाल प्रहरी र सरकारलाई आग्रह गरेको थियो । मुलुकी फौजदारी संहिताको कानुनी व्यवस्था समेत पालना गरी उचित कारण र आधार बिना पक्राउ गर्ने कार्य नगर्न समेत प्रहरीलाई सर्वोच्चको आदेशमा भनेको थियो ।

यता, जिल्ला अदालत नुवाकोटले प्रकाण्डलाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न अनुमति दिएको छ । आइतबार प्रहरीले स्काइभेटर आगजनी गरेको मुद्दामा अनुसन्धानका लागि एक साताको समय माग गरेको थियो । तर अदालतले तीन दिनको समय उपलब्ध गराएको हो ।

प्रतिकृया दिनुहोस