अर्घाखाँची र प्युठानको जंगलमा विप्लव र प्रहरी आमनेसामने

Biplab 1

प्युठान । पछिल्ला केही दिनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्नो गतिविधि तीव्र बनाएपछि अर्घाखाँची र प्युठानको सीमास्थलका जंगल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

नेकपाको विशेष नेताहरुको उपस्थिती छ भन्ने सुचनाका आधारमा प्युठानको सरुमारानी क्षेत्र र अर्घाखाँचीको शितगंगा नगरपालिका वन क्षेत्रमा प्रहरीले निगरानी थालेको छ ।

विप्लवले पनि सो जंगल क्षेत्रमा विषेश योजना बनाएर जनप्रतिनिधिलाई लक्षित गरेर जनकारवाहीको रणनीतिक योजना बनाउन लागेको सुचनाका आधारमा सो क्षेत्रमा प्रहरी परिचालित भएका हुन् ।

अहिले सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानीयले बताएका छन् । कपिलवस्तु, दाङ, प्युठान र अर्घाखाँचीका सीमानामा प्रहरी तैनाथ गरिएका छन् । स्थानीयका अनुसार सो क्षेत्रमा झण्डै ४०/५० जनाको संख्यामा प्रहरी देखिएका छन् ।

केही दिनदेखियता सो क्षेत्रमा माओवादी कार्यकर्ताहरुको पनि उपस्थिती देखिन थालेको थियो । त्यसमा पनि प्हरीले अहिले एनसेल टावरको लोकेसनका आधारमा सो क्षेत्रमा निगरानी बढाएको थियो ।

सो क्षेत्रमा नेकपाका महासचिव बिप्लवसहित प्रदेश ५ अन्तर्गतका उच्च तहका नेताहरु प्रहरीको घेरावन्दीमा पारेको स्रोतको भनाई छ । तर, प्रहरीले भने सो क्षेत्रमा प्रहरी परिचालन नगरिएको दावी गरेको छ ।

चन्द नेतृत्वको गतिविधिका कारण सुरक्षा चुनौती रहेको सरकारकै ठम्याई छ । त्यसमा पनि नेकपाले स्थानीय जनप्रतिनिधि लक्षित योजना बनाउन थालेपछि प्रहरी थप सशंकित बन्न थालेको छ ।

विप्लवले प्रदेश ५ अन्तर्गत राप्ती अञ्चललाई केन्द्रीत गर्दै जनकारवाही बढाउने खबर प्रहरीमा पुगेको थियो । सो खवर पाएलगत्तै त्यसको खोज गर्न भनेर नै प्रहरी परिचालित भएको हो । त, प्रहरी भने यो विषयमा बोल्न चाहेको छैन ।

‘खै हामीले त प्रहरी त्यसरी परिचालन गरेका छैनौं’ जिल्ला वप्रहरी कार्यालय प्युठानका प्रहरी इन्सपेक्टर गोपीकृष्ण सुवेदीले भने, ‘प्युठानमा त्यस्तो केही घटना परिघटना भए जस्तो त लाग्दैन ।’

यता नेकपाका प्युठान जिल्ला इन्चार्ज अजयले जिल्लामा नेकपा माओवादीको कुनै कार्यक्रम भेला र बैठक नभएको तर्क गर्छन् । तर, प्रहरी स्रोतका अनुसार नेकपाका उच्च तहका नेताहरुको संवाद नेटवर्कले क्याच गरेको र सो संवादको लोकेसन अर्घाखाँची र प्युठान देखाएपछि प्रहरीले उच्च सतर्कतासहित निगरानी बढाएको हो ।

प्रतिकृया दिनुहोस