काठमाडौंमा गर्मी बढ्यो !

Sun

काठमाडौं । बिहान र बेलुका सामान्य वर्षा भएपनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौं उपत्यकामा गर्मी बढेको छ ।

मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो ।

काठमाडौंसहित देशभर अझै एक र दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकाले एक्कासी तापक्रममा वृद्धि आएको हो ।

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ । आगामी असार ५ गतेदेखि मनसुनी गतिविधि पुनःसक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

बुधबार र बिहीबार काठमाडौंको अधिकतम् तापक्रम ३१.६ र न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम् तापक्रम २४ देखि २७ सम्म पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी नेपालगञ्जको अधिकतम् तापक्रम ३८.३ र न्यूनतम् २६.८ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम जुम्लाको अधिकतम् तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । आज ताप्लेजुङमा २९, डडेलधुरामा १६ र नेपालगञ्जमा ६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिकृया दिनुहोस