बेतिथी : माग १ करोड, विनियोजन २५ करोड !

Kavre bimansthal adhyan

काठमाडौं । शक्ति भए केसम्म नहुँदो रहेछ र ? ‘आफ्नै हात जगन्नथ’ भनेझैं सरकारले आफुलाई मन लागेको ठाउँमा जति पनि पैसा खर्च गर्न सक्दो रहेछ भन्ने एउटा घटनाले पुष्टि गरेको छ ।

जनाता विकास माग्दै दैनिक नेता र सचिवको ढोकाम्म पुग्छन् । तर पनि विकासे कामले प्राथमिकता पाउँदैन । यहाँ यस्तो भएको छ, सम्भाव्यता अध्ययन नभएको विमानस्थललाई जग्गा किन्न २५ करोड बजेट विनियोजन भयो भन्ने सुन्दा अचम्म मान्नु पर्दैन ।

अर्थमन्त्री युवराज खतिवडाले सम्भाव्यता अध्ययन नभएका आयोजनामा बजेट विनियोजन नगर्ने श्वेतपत्र ल्याउँदा बताएका थिए । तर, सम्भाव्यता अध्ययन नभएको विमानस्थलको जग्गा किन्न भनेर २५ करोड रुपैयाँ विनियोजन गरेको खुलेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्भाव्यता अध्ययन नै नभएको काभ्रेमा आन्तरिक उडान गर्ने वैकल्पिक विमानस्थल बनाउन २५ करोड विनियोजन गरेको पाइएको छ । तर, पर्यटन मन्त्री रविन्द्र अधिकारी आफैंले गठन गरेको विज्ञ समूहले पाँच वर्षभित्र कुनै पनि आन्तरिक विमानस्थल नबनाउन सुझाव दिएको थियो ।

यसको बेवास्ता गर्दै मन्त्रालयले भने जग्गा अधिग्रहण निम्ति २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर यो वर्ष काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन गर्न १ करोड रुपैयाँ बजेट माग गरेको थियो ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई चाप कम गर्न काभ्रेको नागिडाँडामा विमानस्थल बनाउने घोषणा गरिसकेका छन् । यो विमानस्थल निर्माणको सम्भाव्य अध्ययनसमेत भएको छ ।

बैशाख १८ मा मन्त्री अधिकारीले काभ्रेको बनेपा नगरपालिका–११ मा रहेको नागीडाँडा, धुलिखेल ७ र ९ को सिमानामा पर्ने ठूलीचौर र धुलिखेल ११ र १२ को सिमानामा पर्ने चिसापानी ठूलीचौरमा अवलोकन गरेका थिए । यसैको भरमा मन्त्रालयले जग्गा किन्न भनेर २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अन्य जिल्लाहरुमा सम्भाव्य अध्ययन गरिएका विमानस्थल निर्माणका लागि भने पर्याप्त बजेट दिएको छैन ।

प्रतिकृया दिनुहोस