डिआइजीहरुको सरुवा, को कहाँ पुगे ?

Police dig

काठमाडौं । सरकारले हालै बढुवा भएका प्रहरी नायव महानीरिक्षक(डिआइजी)हरुको पदस्थापन गरेको छ । प्रहरी अतिरिक्त महानीरिक्षक(एआइजी) का दाबेदार पाँच डिआइजीलाई समेत बढुवा नगरी सरुवा गरेका छ । सरुवा भएका डिआइजीलाई एआइजीको दरवन्दी भएका स्थानमा सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी)को नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आइजीपीका ब्याची पाँच जना डिआइजीलाई सरुवा गर्नुका साथै एक हप्ता अघि बढुवा भएका १६ जना डिआइजीको पदस्थापन गरेको हो ।

आइजीपीको प्रतिष्पर्धी रहेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । प्रायः आइजिपीको प्रतिस्पर्धी रहेका एआइजी वा डिआइजीलाई त्यहाँ सरुवा गरिने परम्पराको रुपमा विकास हुन थालेको छ ।

यसअघि रमेशचन्द ठकुरी आइजिपी हुँदा उनका प्रतिस्पर्धी रविन्द्रप्रताप शाहलाई पनि प्रतिष्ठानमै सरुवा गरिएको थियो भने उपेन्द्रकान्त अर्याल आइजिपी हुँदा प्रतिस्पर्धी राजेन्द्रसिंह भण्डारीले आफैं प्रतिष्ठानमा सरुवा मागेका थिए।

प्रहरी प्रवक्ता समेत रहेका मनोज न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । त्यस्तै धिरु बस्नेतलाई अपराध अनुसन्धान विभाग, छविलाल जोशीलाई कार्यविभाग र ज्ञानविक्रम शाहलाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । डिआइजी ठूले राई, उत्तम कार्की र पवन खरेलको भने सरुवा भएको छैन । सिआइवीमा भने कसैलाई पनि सरुवा गरिएको छैन।

यसैगरी डिआइजीमा बढुवाहरुमध्ये प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहोरा, आइजीपी सचिवालयमा सरुवा भएका शेरबहादुर बस्नेतलाई प्रदेश ५को समेत जिम्मेवारी तोकिएको छ । त्रिभुवनविमानस्थल सुरक्षागार्ड प्रमुखमा कमल जिटीलाई पठाइएको छ । श्याम खड्का राष्ट्रिय सुरक्षा परिषद् र महेशविक्रम शाह प्रहरी प्रधान कार्यालयको तालिम निर्देशनालयमा पदस्थापन गरिएको छ । महेन्द्रकुमार पोखरेल जुनिएर प्रहरी तालिम निर्देशनालय भरतपुर, सुरज केसी प्रहरी प्रधान कार्यलयस्थित सुरक्षा निर्देशनालयमा पदस्थापन गरिएको छ।

प्रतिकृया दिनुहोस