राष्ट्रियसभा निर्वाचनका लागि ४० दिन लाग्ने : निर्वाचन अायोग

Election commition aomkpxemxa

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रक्रिया पूरा गर्दा आयोगलाई कम्तीमा ४० दिन आवश्यक पर्ने आयोग प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । उनले भने, ‘अहिले म्याचोअर्ड त छैन तर फण्डामेन्टलरुपमा कम्तीमा ४० दिन लाग्छ । योभन्दा कममा पनि गर्न सकिन्छ कि भनेर वर्कआउट गर्दैछौं ।’

अहिले निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको मिति र प्रदेश प्रमुखको पर्खाइमा छ । तर अहिले सरकारले मिति पनि घोषणा नगरेको र प्रदेश प्रमुख पनि नतोकेकाले निर्वाचन कहिले हुन्छ भन्न सक्ने अवस्था छैन । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य पनि मतदाता हुने भएकाले निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको नतिजा प्रदेश प्रमुखलाई बुझाउनुपर्छ । तर, सरकारले प्रदेश प्रमुख नतोकिँदा नतिजा बुझाउन आयोगले पाएको छैन ।

आयोगका प्रवक्ता घिमिरेले अनलाइनखबरसँग भने, ‘राष्ट्रियसभाको निर्वाचनको मिति सरकारले घोषणा गरिदिनुपर्छ र प्रदेश प्रमुख तोकिदिनुपर्छ, यी दुई फण्डामेन्टल कुरा छिटो हुनु अति आवश्यक छ । मिति घोषणा भएलगत्तै निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशन गर्छौं । हामी अध्यादेशअनुसार आवश्यक तयारी गरिरहेका छौं ।’

५९ सदस्यीय राष्ट्रिय सभामा सातैवटा प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचनबाट चुनिन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित हुन्छन् ।

सरकारले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचन आयोगले आठ प्रकारका मतपत्र छाप्नुपर्ने प्रारम्भिक गृहकार्य गरिरहेको छ ।

दुई किसिमका मतदाताका दुई अलग-अलग मतभार र चार क्लष्टर भएकाले ८ प्रकारका मतपत्रको सम्भावना हुने आयोग प्रवक्ता दिनेश घिमिरे बताउँछन् ।

राष्ट्रियसभामा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ हजार ५६ जना मतदाता हुन्छन् । दुई किसिमका मतदाताका फरक-फरक मतभार छन् । प्रदेशसभाको एक सदस्यबराबर मतभार ४८ र स्थानीय तह प्रमुख वा उपप्रमुखको भने मतभार १८ हुन्छ । त्यसैले आयोगलाई मतगणनाका लागि दुईवटा रंगका मतपत्र चाहिन्छ ।

प्रतिकृया दिनुहोस