थापाथलीको सुकुम्बासी बस्तीमा महानगरको डोजर, महानगर प्रहरी प्रमुखसहित १८ जना नगर प्रहरी घाइते

Thapathali aandolan

काठमाडौं । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन । डोजरको प्रतिकार गर्न इँट्टासमेत प्रहार गरे ।

महानगरपालिकाले बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव सिर्जना भएको छ ।काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर सुकुम्बासी बस्ती हटाउन खोजेपछि नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शन उत्रिएपछि तनावग्रस्त बनेको हो ।

हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत बोकेर उत्रिएका स्थानीय प्रदर्शनकारीले आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावबाजीसमेत गरेका छन् ।

आफूहरुलाई हटाउन वैकल्पिक व्यवस्थाविनै ठाउँ छाड्न भनिएपछि स्थानीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । सुकुम्वासीहरूको ढुंगामुढाबाट महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।

यता, काठमाडौं महानगरपालिकाले थापाथलीमा नगर प्रहरीलाई आक्रमण गर्नेहरुलाई कारबाहीको माग गरेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनाधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरुले धारिलो हतियार, ढुंगा, मुढासहितका सामग्री बोकेर आपराधिक मनसायले महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाएको जारी विज्ञप्तिमा उल्लेख छ । आक्रमणबाट गम्भीर घाइते भएका नगर प्रहरी शर्मिला बोगटी सहित तीन जनाको आईसीयमा राखेर उपचार भइरहेको मान्धरले बताए ।

सार्वजनिक जग्गामा निर्माण गरिएको अनधिकृत संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट पटक(पटक सार्वजनिक सूचना गरिएको, सम्बन्धित स्थानीय प्रशासनसँग समेत समन्वय तथा पत्राचार भए पनि नहटाएको महानगरले जनाएको छ ।

प्रवक्ता मानन्धरका अनुसार समितिको अनुरोधमा महानगर प्रहरी बलका प्रमुखसहितका नगर प्रहरीको टोली सुकुम्बासी बस्ती खाली गराउन पुग्दा आक्रमणमा परेको बताए ।

 

प्रतिकृया दिनुहोस