पूर्व क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि केन्द्रिय कारागार चलान (अदालतको आदेशसहित)

Sandip lamichhane

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले आदेश सुनाएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आदेश दिएसँगै केन्द्रीय कारागार पठाइएको छ ।गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय माग दाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।

मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ  । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ  ।

उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

मिसिलमा संलग्न प्रमाणहरुको परीक्षण गरी थप प्रमाणहरु बुझ्दै जाँदा पछि ठहरेबमोजम हुनेगरी हाललाई लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतले गरेको हो । यस्तै प्रतिवादीकोतर्फबाट पीडितको उमेरको सम्बन्धमा प्रश्न उठाइएको र त्यसबारे जन्मदर्ताको फोटोकपी पेस गरेको देखिन आएकाले त्यसबारे परीक्षणपछि एकिन हुने अदालतको बुझाइ छ ।

मुद्दा निरन्तर सुनुवाइमा जाने भएकाले अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि मंसिर ७ मा उपस्थित गराउन आदेश दिएको छ ।

यस्तै प्रतिवादीले बयानका साग पेस गरेको पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कलप्रति सम्बन्धित कार्यालयबाट झिकाउन तथा पीडितले नागरिकता बनाउँदा भरेको अनुसूची फारामसहितको प्रतिलिपी सम्बन्धित कार्यालयबाट झिकाउन आदेश भएको छ ।

 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...