दार्चुलामा नेपाली बालकको मृत्यु प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट, जवाफ आउन बाँकी

Darchula vir

काठमाडौं । भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो ।

गृह मन्त्रालयबाट कूटनीतिक नोट पठाउनका लागि परराष्ट्रलाई शनिबार नै पत्र पठाए पनि घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार कूटनीतिक नोट पठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

महराको मृत्यु भएको घटनामा भारतीय पक्षले माफी मागेको छ । भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराइसकेको छ ।

‘गृहमन्त्रालयले घटनाको विस्तृत विवरणसहित पत्र पठाएपछि मन्त्रालयबाट आज बिहान १० बजे भारतको ध्यानाकर्षण गराउँदै राजदूतावासमार्फत उक्त नोट पठाइएको छ’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘गृहमन्त्रालयको स्थलगत प्रतिवेदनका आधारमा सचेत गराउने, अनुरोध गर्ने र भन्नुपर्ने कुरा कूटनीतिक नोेटमा राखिएको छ ।’

परराष्ट्र मन्त्रालयका ती अधिकारीका अनुसार नोटमा मुख्य तीनवटा विषय समेटिएको छ । सीमावर्ती क्षेत्रमा यस्ता निर्माण कार्यहरू गर्दा स्थानीय प्रशासन र जनसमुदायलाई पूर्व सूचना दिन र सहकार्य गर्न आग्रह गरिएको छ ।

निर्माण कार्य भइरहँदा जोखिम न्यूनिकरणका लागि सुरक्षाका उपायहरू अपनाएर मात्रै यस्ता प्रकारका कामहरू गर्न भनिएको छ । साथै अहिले भएको घटनामा पीडित महराको परिवारलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनसमेत नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । ढुंगा लागेर पवनकी दिदी १४ वर्षीया सरिना महरा घाइते भएकी छन् । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार दुम्लिङस्थित घर फर्कंदै थिए । नेपालको प्रशासन र प्रभावित क्षेत्रका बासिन्दालाई पूर्वजानकारी नै नदिई भारतीय पक्षले शुक्रबार बिहान विस्फोट गराएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...