धनकुटाको विहीबारे हटिया प्रवेश आन्दोलनका अगुवा भद्रमान घलेको निधन

धनकुटाका सरकारी कार्यालयमा फरफराइरहेका छन् घलेले सिलाएका राष्ट्रिय झण्डा

Vadraman ghale

धनकुटा । नेपालको दलित आन्दोलनकै अगुवा दलित मध्येका एक दलित अगुवा भद्रमान घले परियारको ९० वर्षको उमेरमा निधन भएको छ ।

जिल्लाकै पुराना वामपन्थी नेता घले १९८९ सालको कात्तिक महिनामा तत्कालीन सान्नेमा जन्मिएर हाल धनकुटा नगरपालिका–५ बिहिबारे हटिया घर भएका घलेको बिहीबार राति १ बजे विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो । घलेका २ छोरा र ३ छोरी छन् । छोरा डा. सन्तोष भारतबाट आएपछि घलेको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

२००५ सालमा नेपाली कांग्रेसको सदस्यता समेत लिएका घले २००७ सालमा राणा शासन विरोधी आन्दोलनमा पर्चा छर्ने काममा कोइराला परिवारसँगै उनी सक्रिय थिए । तर, २००८ सालमा धरानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको भाषणबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । मनमोहन अधिकारी, हिरालाल विश्वकर्मा, सहर्षनाथ कपाली लगायतको संगतले उनी वामपन्थी नेताको रुपमा स्थापित बनेका हुन् ।

घलेले २००९ सालमा साप्ताहिक बिहीबारे हाटमा दलित प्रवेश गर्न नपाइने त्यसबेलाको जातिय विभेद अन्त्यका लागि अगुवाई गरेका थिए । हाटमा दलित प्रवेश गराएको आरोपमा उनले डेढ वर्ष जेल जीवन बिताउनु परेको थियो । कम्युनिष्ट सदस्यता दिनुअघि उनले २००३ सालदेखि पाँच वर्ष विराटनगरस्थित कोइराला निवासमा दौरा सुरुवाल र टोपी सिलाउने काममा बिताएका थिए ।

वर्षौं कम्युनिष्ट आन्दोलनमा लागेका घले ८० वर्ष अघिदेखि सिलाइ कटाइबाटै जीविकोपार्जन गर्दै आएका थिए । जीवनको अन्तिम क्षणसम्म राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक सिलाउन तल्लीन थिए । डेढ महिनाअघि दमको बिरामले थलिनु अघिसम्म धनकुटा ५ स्थित बिहीबारे हाट नजिक घलेको छाप्रोमा राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक बनाउनमै व्यस्त थिए ।

झन्डा बनाउन भने २०२२ सालदेखि सुरु गरेका थिए । संविधान दिवस, दसैं, लोकतन्त्र तथा गणतन्त्र दिवस जस्ता राष्ट्रिय पर्वमा उनलाई झन्डा बनाउने बाहेक अरु कामको फुर्सद नै हुन्न थियो । बिहानदेखि बेलुकीसम्म कपडाको चन्द्र सूर्य चिह्न र झन्डाको लागि साइज नाप्दै सिलाई मेसिनमा खिटिरहनै व्यस्त हुन्थे । जिल्लास्थित अधिकांश न्यायिक, अर्ध न्यायिक निकाय, सरकारी कार्यालय र स्थानीय पालिकाको प्राङ्गण र कार्यकक्षमा फर्फराइरहेको चन्द्र सूर्य अंकित राष्ट्रिय झन्डा उनैले बनाएका हुन् ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नबहादुर गुरुङले जिल्लाभरि वितरण गर्न एकै पटक दुई सय बढी झन्डा बनाउन अर्डर दिएपछि त्यसैलाई मुख्य पेसाको रुपमा अपनाउँदै आएका थिए । वर्षौं कम्युनिष्ट आन्दोलनमा लागे पनि जिल्ला विकास समितिको सदस्य बाहेक राजनीतिक अवसर पाएनन् । सिलाइकटाइ पेसाकै आम्दानीबाट उनले ४ छोरी र २ छोरालाई उच्च शिक्षा पढाए । जेठा छोरा सन्तोष एमबिबिएस डाक्टरको रुपमा भारतमा छन् ।अन्य काठमाडौं, विराटनर, जनकपुरमा छन् ।

एमालेको तत्कालीन कोशी अञ्चल कमिटी सदस्य पनि बनेका घले धनकुटाका पुराना कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् । उनी नेकपा एमाले निकट ज्येष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य पनि थिए ।

उनलाई पुराना कम्युनिष्ट नेता एवं दलित मुक्ति आन्दोलनका अगुवाका रुपमा धेरै संघ संस्थाले सम्मानसमेत गरेका छन् । नेपाली दलित मुक्ति आन्दोलनका अग्रज तथा मानव अधिकार तथा अम्बेडकर पुरस्कारद्वारा सम्मानित घलेलाई नेपालको दलित आन्दोलनको अग्रणी व्यक्तित्वको रुपमा लिइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...