लाल मोहम्मद हत्यापञ्करण : हतियार व्यवस्थापन र रेकी गर्ने तीनजना पक्राउ, सुटर अझै फरार

Lal mohammad

काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान, मेहरन मियाँ र आफुलाई सुमी सुमी भनिने सुस्मिता स्याङ्तान छन् ।

पक्राउ पर्नेमध्ये मियाँ द्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएका प्रहरीले बताएको छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।

एसएसपी जनक भट्टराईका अनुसार सुस्मिता लाल मोहम्मदको रेकीको जिम्मेवारीमा थिइन् । उनले एक महिनादेखि लाल मोहम्मदका हरेक घटनाको निगरानी गरी सूचना प्रवाह गरेको अनुसन्धानबाट खुलेको भट्टराईले जानकारी दिए । लाल मोहम्मदमाथि गोली प्रहार गर्ने भने अहिलेसम्म फरार छन् ।

मृतक लाल मोहम्मद कुनै समय जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् । उनी २०६३ मा नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए । उनको पृष्ठभूमिलाई जोडेर मोहम्मदको हत्यामा भारतीय खुफिया निकायको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको ४ असोजमा गोली प्रहार गरी हत्या भएको थियो । शरीरका विभिन्न अंगमा चारवटा गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो  ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले एक्कासि गोली प्रहार गरेका थिए  । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए  ।

परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीँ छाडेर भागेका थिए  । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस