पल शाह प्रकरणको पूर्णपाठ : ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’

Paul shaha

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । भदौ २१ गते जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

उक्त मुद्दाको फैसला सुनाउँदै पल शाहलाई जबरजस्ती करणीको कसुरमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा साढे २ वर्ष कैदको फैसला भएको छ । यस्तै नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला भएको छ ।

जिल्ला अदालत नवलपुरको फैसलाको पूर्णपाठ आएसँगै अब यसविरुद्ध उच्च अदालतमा पुनरावेदनको तयारी गर्ने पल शाहका अधिवक्ता कमलामोहन वाग्लेले बताए ।

पूर्णपाठमा अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । दशैंपछि पुनरावेदन दिने तयारीमा आफूहरु रहेको उनले बताए ।

दुवै अदालतमा जाहेरवाला र पीडितले भने इन्कारी बयान दिएका थिए। इन्कारी बयान दिए पनि शाहलाई अदालतले अन्य घटनाक्रम र प्रमाणका आधारमा पूर्ण निर्दोष नरहेको ठहर गरेको हो। तर अदालतले जबरजस्ती करणीको मुद्दामा भने सफाइ दिएको थियो ।

अदालतको फैसलामा भनिएको छ, ‘करणीको कसुरका प्रत्यक्षदर्शी भनेका नै पीडक र पीडित नै हुन्। त्यसकारण जबरजस्ती करणीको कसुरको प्रत्येक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सबुदको प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ।’

अदालतले मिसिल बाहिर गएर अनुमानको आधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनी निर्णय गर्न नमिल्ने फैसलामा उल्लेख छ । अभियोजन पक्षले अभियोग दायर गरेपछि आफूले दायर गरेको अभियोगलाई शंकारहित तवरबाट पुष्टि गर्नुपर्ने भए पनि प्रतिवादीले अनुसन्धानका क्रममा इन्कारी बयान दिएका थिए।

तर उनले पीडितसँग भएको कुराकानी, म्यासेज आदानप्रदान भएको र पेश भएको अडिओ र त्यहाँ गरिएको छलफल स्वीकार गरेका थिए । अदालतमा पनि उनले इन्कार नै गरेका थिए ।

‘मिसिल संलग्न माथि उल्लिखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसुर गरेको भनि अनुमान गर्न मिल्ने अवस्था देखिँदैन । अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन । अदालतमा पेश भएका कुनै पनि विवादको निर्णयमा पुग्नको लागि मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयको लागि आवश्यक हुन्छ ।

अझ फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ’, फैसलाको पूर्णपाठमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस