धनकुटाका सांसद राजेन्द्र राई भन्छन्, धनकुटाको विकासका लागि ३० अर्ब बजेट ल्याएँ

Rajendra rai press meet

धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार राईले आफ्नो पाँच वर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट ३७ हजार ३ सय ३३ मतसहित विजयी भएका थिए । उनले तत्कालिन राप्रपाका उम्मेद्वार सुनिल बहादुर थापालाई १० हजार ४ सय ५९ मतान्तरले पराजित गरेका थिए ।

प्रतिनिधिसभा सदस्य राईले पत्रकार सम्मेलनमार्फत ५ वर्षे कार्यकालमा ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार बजेट धनकुटामा भित्र्याउन सफल भएको दावी गरे । उनले राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर निर्माणका लागि ७ अर्ब बजेट बिनियोजन गराउन सफल भएको बताए ।

आर्थिक बर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार, २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार, २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख र चालु आर्थिक बर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट ल्याउँन सफल भएको उनले बताए ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका राईले अरुण करिडोर निर्माण प्रकृया थालनीदेखि प्रदेशकै नमुना विद्यालय निजामती आवासीय विद्यालयको भवन निर्माण, जिल्लाका अन्य विद्यालयका भवन, स्वास्थ्य चौकी, सडक विस्तार जस्ता विकासका काम आफ्नो पहल र प्रयत्नमा भएको बताए ।

सांसद राईका अनुसार धनकुटामा भौतिक पूर्वाधार निर्माण, कृषि, पर्यटन, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतमा बजेटले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आफ्नो पाँच वर्षे कार्यकालमा धनकुटाका सबै क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न सफल भएको बताउँदै उनले आगामी दिनमा सडकहरूको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस