खुल्यो म्यादी प्रहरी : १ लाख १५ हजार म्यादी प्रहरीमध्ये पुरानालाई पहिलो प्राथमिकता

Myadi police

काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ ।

म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।

प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

असोज ९ गतेदेखि १४ गतेसम्म छनौट सुरु हुने छ । असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।

दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।

म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।

आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१-३३ इन्च, तौल ५० केजी र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ केजी भएको तथा गर्भवती नभएको/नरहेको हुनुपर्नेछ ।

 

 

प्रतिकृया दिनुहोस