सत्ता गठबन्धनमा सिट बाँडफाँटमा मिलेन कुरा, अर्काे बैठक भोली बस्ने

Sansad baitha 2

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताले पनि सिट संख्या टुंगो लगाउन असफल भएका छन् । शनिबार बालुवाटारमा सिट संख्याबारे समझदारी गर्न बनेको कार्यदल र शीर्ष नेताको बैठक बसेको थियो । आजको बैठकमा उपन्द्र यादव उपस्थित भएका थिएनन् ।

आजको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सिट बाँडफाँटको विषयमा कुनै उपलब्धी भएन ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका नेताहरूको बैठक सहमतिमा पुग्न नसकेको हो ।

'सिट बाँडफाँटबारे छलफल भयो । तर सहमति भएन,' जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले कान्तिपुरसित भने,'भोलि ८ बजे फेरि बैठक बस्नेछ ।'

शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन । नेताहरूले शनिबारको बैठकलाई भने निर्णायक बैठक भनेका थिए । तर सहमतिमा पुग्न सकेन । समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउने दिन नजिकिँदा दलहरूलाई सिट बाँडफाँट टुंग्याउन दबाब बढेको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले २० साउनमै आगामी चुनावमा तालमेल गर्ने सहमति गरेका थिए भने त्यही दिन कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलले दर्जनौं पटक छलफल गरे पनि सिट बाँडफाँटका विषयमा टुंगो लगाउन सकेको छैन । कार्यदलले एक मात्रै दलको दाबी रहेका करिब ९० सिटमा समझदारी जुटाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस