बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति

Aletar fohor gadi

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार साँझ सहमति भएको छ । मंगलबार दिउँसो २ बजेदेखि भएको बैठक साँझ ७ बजे मात्रै सकिएको थियो ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको हो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमतिपछि फोहोरको अवरोध अन्त्य भएको हो ।

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति पनि भएको छ ।

छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।

हेर्नुहोस् सहमति

 

प्रतिकृया दिनुहोस