आज १ बजे एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसुची

Yemale central office

काठमाडौं । स्थानीय तहको निर्वाचनको समिक्षा गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ । सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो ।

यसअघि आइतबार सचिवालय बैठक बस्नुअघि महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बसेको थियो । त्यो बैठकले आजको बैठकका मुख्य चार एजेन्डा निश्चित गरेको छ । हिजोको बैठकले धनश्याम भुषाललाई कारवाही गर्ने सुची बन्ने बताइएको थियो ।

एमालेले चुनाव भएका ७५२ मध्ये २०५ स्थानीय तहको प्रमुख जितेको थियो । एमालेको निर्वाचन विभाग प्रमुख उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चुनावी नतिजा समेटेर कार्यपत्र तयार पारेको छ । उक्त प्रतिवेदनमाथि आधारित भएर सचिवालय बैठकमा छलफल गर्ने एमालेको तयारी छ ।

चुनावको समीक्षासँगै एमाले सचिवालय बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनेबारे पनि छलफल हुनेछ । २ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । तर निर्णय भने सचिवालय बैठकले गर्नेछ ।

प्रतिकृया दिनुहोस