मत गणना बाँकी हुँदै पोखराको मेयरमा एकीकृत समाजवादीका आचार्य विजयी

Dhanraj

पोखरा । कास्कीको पोखरा महानगरपालिका नेकपा एमालेको दवदवा भएको ठाउँ हो । यहाँ सधैं नेकपा एमालेले एकछत्र राज गर्दै आएको थियो । तर, नेकपा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले एमालेको गढलाई खोसेको छ ।

नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

१ लाख ३८ हजार २११ मत गनिसक्दा मेयर आचार्यले ५६ हजार ४७१ मत ल्याएका छन् भने थापाले ५१ हजार १८५ मत ल्याएका छन् । पोखरामा कूल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

०१६ सालमा नगर पन्चायतको रुपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन् । २०१६ देखि ०१८ सम्म पहिलो मेयरका रुपमा शिवबहादुर थापाले काम गरे । २०१९ देखि ०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने ।

२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरे । २०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचन भयो । पहिलो मेयरको रुपमा कांग्रेसका भोला थापा निर्वाचित भए । २०५४ मा अहिलेका एमाले उम्मेदवार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन् । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने ।

नयाँ संविधान जारी भए पनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रुपमा निर्वाचित भएका थिए । उनको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रुपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन् । पोखराको मेयरमा २३ जनाको प्रतिश्पर्धा थियो ।

प्रतिकृया दिनुहोस