कांग्रेसको घोषणा पत्रमा ओलीको टिप्पणी : ओली भन्छन्, ‘बकवास र पागलहरूको प्रलाप’ मात्रै हो

Kp sharma oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेका छन् । साथै ओलीले एमालेको घोषणापत्रबाट कांग्रेसको लद्दु विद्यार्थीले चिट चारेको आरोप पनि लगाए ।

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरू तानाशाह मनोवृत्ति भएको आरोप लगाए ।

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’

‘अहिले यो गठबन्धनमा रहेकाहरू तानाशाह मनोवृत्ति नै मनोवृत्तिका मात्रै छन्’, ओलीले भने, ‘यिनीहरूको एकताको सूत्र एउटै हो एमाले । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर सबै एकै ठाउँमा पुग्छन् । फेरि त्यहाँ एकै ठाउँ बसेपछि डर्याङडुरुङ गरेर छरिन्छन् ।’

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए । ओलीले माओवादी केन्द्रको पनि आलोचना गरे । माओवादी पार्टी नै नभएको भन्दै त्यही कारण घोषणा पत्रसमेत ननिकालेको दाबी ओलीले गरे ।

ओलीले थपे, ‘यो पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो । एमालेका डरले कांग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्दान्तिक, न वैचारिक हो ।’

प्रतिकृया दिनुहोस