दाङ आगलागी अपडेट : मृतक पाँचैजनाको पहिचान खुल्यो

Tulasipur aagolagi

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका -५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । मृतकहरु ६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शवहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलेसल पसल तथा गोदाममा पनि क्षति पुगेको छ ।

राति सुतिरहेका बेला आगलागी भएकाले ठूलो मानवीय क्षति भएको प्रहरीले बताएको छ। डिएसपी अर्यालका अनुसार विद्युत्‍को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ । बिहीवार राति २ बजेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा लिइएको डिएसपी अर्यालले बताए ।

घोराही उपमहानगरपालिकाको दमकलसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी आगो निभाउन खटिएका थिए ।

उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । आगो कम भएपछि साढे ७ बजेतिर शव बाहिर निकालिएको थियो । घरको तेस्रो तलाबाट ३ र चौथो तलाबाट २ जनाको शव निकालिएको हो ।

प्रतिकृया दिनुहोस