तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

Tulasipur aagolagi

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए । उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।

विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।

प्रतिकृया दिनुहोस