निकुञ्जका कर्मचारीहरूलाई समेत विभागीय कारबाही गर्न सिफारिस

Gaida 27

काठमाडौं । चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटनामा चितवन निकुञ्जका कर्मचारीहरूलाई समेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

छानबिन गर्न गठित समितिले गरेको अध्ययनका क्रममा कर्मचारीसमेत दोषी देखिएको ठहर गर्दै कारवाहीको दायरामा ल्याउन सिफारीस गरेको हो । पूर्वपश्चिम मेहन्द्र राजमार्गको चितवन भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर गत माघ ९ गते दिउँसो करिब ११ वर्षको भाले गैंडा मरेको थियो ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादबले गैंडाको मृत्युबारे छानविन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, निकुञ्ज विभागका योजना प्रमुख डिलबहादुर पूर्जा पुन, डिभिजन वन कार्यालय, चितवनका प्रमुख पदम नेपाल र चितवन निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य सदस्य रहेको छानबिन समिति बनाएका थिए ।

प्रतिवेदनमा असावधानीपूर्वक काम गर्ने, गराउने, सुरक्षाको प्रबन्ध नगर्ने, सरोकारवाला निकायहरूसँग समन्वय नगर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीहरूलाईसमेत निजामति सेवा ऐनअनुसार विभागीय कारबाही गर्न भनिएको छ ।

समितिले दुई दिनअघि पेस गरेको प्रतिवेदनमा निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणलाई सचेत गराउनसमेत भनिएको छ । छानबिन समितिले दुई दिनअघि प्रतिवेदनबारे मन्त्री, सचिवलगायतलाई ब्रिफिङ गरेको थियो ।

प्रतिवेदनमा नजिकको सामुदायिक वन समूहका वन रक्षक, निकुञ्जको रेन्जपोस्ट, नेपाली सेनाको पोस्ट, डिभिजन वन कार्यालयअन्तर्गत्का कर्मचारी लगायतलाई स्पष्टिकरण सोध्नसमेत भनिएको छ । छानबिन समितिले स्थलगत अध्ययन र सरोकारवाला निकायका प्रमुख र अन्यसँग छलफल गरी प्रतिवेदन तयार गरेको हो ।

समितिले प्रतिवेदनमा ुसम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाही गर्नुपर्नेु उल्लेख छ ।

 

 

 

प्रतिकृया दिनुहोस