राजावादी कमल थापा गणतन्त्रवादी बन्दै, फागुन १ गते नयाँ दल दर्ता गर्ने

Kamal thapa 4

काठमाडौं । केही दिनअघि मात्रै गृह जिल्ला हेटौडा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले संवैधानिक राजतन्त्रको मुद्दा छाडेरनयाँ दल दर्ता गर्ने भएका छन् ।

बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको छ ।

पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् । उनीहरु थापाको पक्षमा खुलिसकेका छन् । तर, हाल राप्रपाको पदाधिकारीमा रहेकाहरु भने थापाको पक्षमा खुलिसकेका छैनन् । केही केन्द्रीय सदस्यचाहिँ खुलेका छन् ।

थापाले मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए । गत महाधिवेशनमा निर्मल निवासले आफूलाई चुनाव हराएको र सो विषयमा पार्टीले छानबिन गर्नुपर्ने पक्षमा रहेका थापा सो माग सम्बोधन नभएपछि राप्रपाबाट बाहिरिएका हुन् ।

‘हिन्दूत्व सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्ने निर्णय भएको छ’ थापा निकट नेता राजाराम बर्तौलाले भने । 'राष्ट्रिय जन एकता पार्टी', 'परिवर्तन नेपाल पार्टी' लगायतका नामहरू छलफलमै रहेको पौडेलको भनाइ छ । थापाको पार्टीको केन्द्रीय कार्यालय राप्रपाको पार्टी कार्यालय नजिकै धुम्बाराहीमै रहने बताइएको छ ।

उनका अनुसार नयाँ पार्टी राजसंस्थाबारे मौन छ । ‘राजसंस्था छाड्ने नछाड्ने भन्ने कुरा रहेन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हुनेछ’ बर्तौलाले भने ।

२०६२/०६३ को जनआन्दोलनपछि अधिकांश राजनीतिक दलहरूले संघीयता, लोकतान्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई आफ्नो एजेण्डा बनाउँदा थापा भने एकात्मक हिन्दु अधिराज्यको पक्षमा उभिएका थिए ।

मंसिरको तेस्रो साता भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि असन्तुष्ट रहेका थापाले त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस