चीनद्धारा नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास, सरकारद्वारा स्वीकार

Nepal sima 26

काठमाडौं । नेपाल सरकारले गोप्य राखेको एउटा अध्ययन प्रतिवेदनले चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरेको छ ।

दुई देशको सीमामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने भएकाले त्यसको संरक्षण र कूटनीतिक सम्बोधन हुनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।

चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । नेपाल र चीनबीच उत्तरमा १ हजार ४०० किलोमिटर लामो सीमा रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले भने नेपालको सीमा नमिचेको बताउँदै आएको छ ।

त्यसबाहेक चिनियाँ पक्षले किट खोलाबाट कर्णाली नदीसम्म अवस्थित नेपाली भूभागमा तारबार लगाएकाले त्यसलाई तत्काल हटाउनुपर्ने पनि प्रतिवेदनमा भनिएको छ । बीबीसीलाई उपलब्ध गराइएको उक्त प्रतिवेदनबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाण्डूस्थित चिनियाँ दूतावासलाई प्रश्न राखेको भए पनि दुवै पक्षले कुनै जवाफ दिएनन् ।

सरकारका प्रवक्ताले भने समाचार प्रकाशित भइसकेपछि पत्रकार सम्मेलनमा दुवै छिमेकी मुलुकसँगका सीमा समस्या नेपालले कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन् । चीनले नेपालसँग कुनै पनि किसिमको सीमा विवाद नरहेको बताउने गरेको छ ।

गोप्य रिपोर्ट सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकीसँग सीमाबारे समस्या कूटनीतिकरुपमा समाधान गरिने बताएका छन् । उक्त रिपोर्ट हालसम्म किन प्रकाशित भएन भनेर बीबीसीले समाचारमा प्रश्न समेत उठाएको छ । रिपोर्टले नेपाल र चीनबीच बढ्दो निकटतामा दबाब बढ्ने समाचारमा उल्लेख गरिएको छ ।

बीबीसीलाई प्राप्त रिपोर्टमा सीमामा चिनियाँ सुरक्षाकर्मीले गतिविधि बढाएको, लालुङजोङ स्थित नेपाली भूमिमा धार्मिक गतिविधि गर्न रोक लगाएको, नेपाली कृषकलाई वस्तुभाउ चराउन अवरोध गरेको उल्लेख छ । त्यस्तै, चीनले सीमा स्तम्भमा तार लगाउनका साथै नेपाली भूमिमा नहर र सडक बनाउने तयारी गरेको उल्लेख छ ।

तर, सीमाबारे अध्ययन गर्न गएको टोलीले यसअघि नेपाली भूमिमा बनाइएको भनिएको चिनियाँ भवन वास्तवमा चिनियाँ भूमिमा नै बनाएको पाएको रिपोर्टमा भनिएको छ । चिनियाँ बजारसँग आश्रित भएकाले त्यहाँ रहेका नेपालीहरूले सीमा समस्याबारे टोलीसँग धेरै कुरा गर्न नचाहेको रिपोर्टमा जिकिर गरिएको छ । रिपोर्टमा सीमामा नेपाली सुरक्षाकर्मीलाई तैनाथ गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनमा के छ ?
गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोलीलाई हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौमा दिएको थियो ।

तीन हप्ताभन्दा बढी समय लगाएर समितिले तयार पारेको प्रतिवेदनलाई अझै गोप्य राखिएको छ । चीनले लिमी लाप्चा क्षेत्र नजिकै निर्माण गरेका भवनका कारण उब्जिएको विवादका माझ उक्त अध्ययन टोली गठन गरिएको थियो ।

अध्ययन टोलीले नेपाल र चीन दुवै सरकारले बताए जस्तै चिनियाँ पक्षले बनाएका भवन सीमा रेखाबाट एक किलोमिटर पर चिनियाँ भूमिमा रहेको देखाएको छ । सो प्रतिवेदनमा चिनियाँ पक्षले नहर तयार गरिरहेको र निर्माण गरिएको ढल पुरिएको अवस्थाको तस्बिर पनि राखिएको छ ।

नेपाली अध्ययन टोली पुग्नु दुई दिनअघि खनिएको सम्पूर्ण भूभाग पुनः छोपी यथास्थितिमा लगिएको आफूहरूले बुझेको प्रतिवेदनमा जनाइएको छ । पानीढलोलाई सिमाना मानिएको भए पनि उक्त क्षेत्रमा चीनका तर्फबाट स्थापना गरिएका दुई वटा सिसिटिभी क्यामेरामध्ये एउटा नेपाली भूभागमा स्थापना गरेको देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिकृया दिनुहोस