भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेका लागि सर्‍यो

Pratinidhi sabha

काठमाडौँ । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका थिए । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको थिएन । एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।

मंगलबार मात्रै सभामुखको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका थिए । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन ।

सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

प्रतिकृया दिनुहोस